Shittalpati
अध्यक्ष बस्यालले बाडे स्वास्थ्य स्वयंसेवीका र प्रहरीलाई माक्स

पाल्पा । विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन नागरिकलाई सूचनासँगै सेवामा समर्पित महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षा निकायले व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री नपाएका गुनासाहरु बाहिर आइरहेका बेला सामाजिक व्यक्तित्व तथा जिल्लाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले भने महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षा निकायलाई माक्स सहयोग गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयका प्रहरी र गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई व्यक्तिगत रुपमा माक्स सहयोग गरेका हुन् ।

स्वास्थ्य क्षेत्रमै काम गर्ने महिला स्वास्थ्य स्वयंसेविका र जस्तोसुकै अवस्थामा पनि दिनरात सुरक्षामा खटिने प्रहरीको सुरक्षाका लागि केही राहत होस् भन्ने हेतुले माक्स सहयोग गरेको अध्यक्ष बस्यालले बताए । उनले बुधबार जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिपेन्द्र जिसी र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीलाई माक्स हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष बस्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि एक सय थान र प्रहरीका लागि दुई सय थान माक्स सहयोग गरेका थिए । माक्स ग्रहण गर्दै प्रहरी उपरीक्षक जिसीले जनप्रतिनिधि बस्यालले प्रहरी प्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । स्वास्थ्य प्रमुख अधिकारीले कोरोना संक्रमणबाट बच्न माक्स अत्यन्त उपयोगी भएकाले स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई माक्स सहयोग गरेकोमा अध्यक्ष बस्याललाई धन्यवाद दिए । अध्यक्ष बस्यालले जिल्लाको सामाजिक, शैक्षिक, पर्यटकीय क्षेत्रमा समेत व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । उनी जनप्रतिनिधि भएपनि गाउँपालिकाको विकाससँगै जिल्लाका गरिब, विपन्न, असहायहरुका लागि समेत खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको पाइन्छ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update