Shittalpati
महँगीको मारमा विद्यार्थी

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् । अचाक्ली महँगीका कारण अड्कालेको पैसाले साझाँ, विहानको भान्सा चलाउनै सकस भइरहेको विद्यार्थीहरुको गुनासो छ ।

तानसेनको कैलाशनगरमा कोठा भाँडामा बस्दै आएकी गुल्मीकी एलिना खत्रीलाई महंगीले सकस बनाएको छ । विगत तीन वर्षदेखि अध्ययनका लागि तानसेनमा बस्दै आएकी खत्री त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । उनी बजारमा भाउ अचाक्ली बढेको बताउँछिन् । घरबाट बुवा आमाले पाँच महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनुहुन्छ तर महंगीले गर्दा त्यो खर्चले दुई महिना पनि धान्न धौंधौं हुने गरेको उनको गुनासो छ । ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई/तीन सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो’ खत्रीले भनिन् । ‘कति साह्रो महँगो भएको तरकारी,’ पसलेले एक सय रुपैयाँ प्रतिकेजी टमाटर भनेपछि जिब्रो टोक्दै पसल बाहिर निस्किएकी कमला सूर्यवंशीले भनिन् । ‘धेरै भएको थियो टमाटर किनेकी थिइन्, टमाटरको मूल्य सुनेर मन कटक्क खायो, बरु नखाने,’ नकिन्ने अठोटमा पुगेकी सूर्यवंशी भन्छिन् । दुई वर्ष अघि स्याङजाबाट अध्ययनको लागि तानसेन आएकी उनलाई अहिले महँगीले पिरोलेको छ । अघाँखाँचीबाट पढाईको शिलशिलामा तानसेनको मखनटोलमा बस्दै आएका पवन विकको समस्या पनि उस्तै छ । कोठामा दाजुभाई सँगै बस्दै आएका उनी पढाईसँगै साझा विहानको खर्च ठार्न धौं धौ भएको बताउँछन् । ‘पहिले दुई सयले १०/१५ दिनलाई पुग्ने तरकारी आउन्थ्यो तर अहिले दुई सयले साँझा विहानको छाकलाई ठिक्क हुन्छ’ विकले भने ‘आफ्नो कमाई नभए पछि घरकै खर्चमा आश्रित हुनुपर्दा तनाव हुँदो रहेछ । सरकारले भाउ बढाउन मात्रै जानेको छ । रोजगारी दिन जानेको छैन ।’ खत्री, सूर्यवंशी र विक मात्रै होइन अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरुलाई महंगीले सास्ती खेप्नु परेको छ ।

पेट्रोल इतिहासमै पहिलो पटक २ सय रुपैयाँ नजिक पुगेको छ । खाने तेलको भाउमा भएको वृद्धिले त तरकारी पनि उसिनेर खानु पर्ने अवस्था देखिन थालेको छ । तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक विक्रेताकहाँबाट किन्दा केही सस्तो भएपनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्यवस्तु बढेको छ । व्यापारीहरुले चिनी, तेलको भाउ आफूखुसी बढाएका छन् । महँगीको प्रभाव सबैतिर देखिएको छ । कोरोना भाइरसको महामारी कारण महँगी यसै पनि बढेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरे यता अवस्था झनै विकराल बनेको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएका सम्बन्धित निकायहरु नै सामान्य मूल्य वृद्धि स्वाभाविक भएको ठान्छन् । जसका कारण विद्यार्थी जस्तै निम्न आय भएका नागरिक समस्यामा परेका छन् । अत्यावश्यक दाल, चामल, तरकारीजस्ता उपभोग्य वस्तुमा त्यत्ति बढी कर नबढेको भएपनि भाउ अचाक्ली बढेको जिल्लाका खुद्रा व्यापारीहरू नै स्वीर्काछन् ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update