Shittalpati
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

पाल्पा, आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

सहकारीको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । ‘सहकारीहरूले अझ राम्रो विश्व निर्माण गर्दछ’ भन्ने नाराका साथ नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ ।

सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो । सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । नेपालमा भने २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर २०१३ सालमा बखान सहकारी संस्थाको स्थापनापश्चात् मात्र नेपालमा सहकारी अभियानको सुरुवात भएको मानिन्छ । सहकारी विभागका अनुसार हाल नेपालमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्ने २९ हजार ८ सय ८६ सहकारी क्रियाशील रहेका छन् । तर पनि सहकारीले अपेक्षाकृत गुणात्मक फड्को मार्न भने सकेको छैन । यसका प्रमुख कारकको रुपमा सहकारी बचत तथा ऋण क्षेत्रमा बढी केन्द्रित हुनु, उत्पादन तथा स्वरोजगार क्षेत्रमा कारोबार घट्नु, सहकारी शिक्षा र चेतना बृद्धि हुन नसक्नु नै रहेको छ ।

सहकारी क्षेत्रले आफूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको निर्विकल्प निकायको रुपमा स्थापित गर्नुपर्छ । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि संविधानले सहकारीको महत्वलाई स्वीकार गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update