Shittalpati
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

वर्षायाममा घर–घरमा हिँड्न छाता र स्वास्थ्य सामग्री र रजिष्टर राख्नका लागि झोला प्रदान गरेकामा आफूहरु खुसी भएको सन्धिखर्क–५ की महिला स्वास्थ्य स्वयंसेविका गोमा भुसालले बताइन् । झोला र छाता वितरण गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख रहेको बताए । उनले नगरपालिकालाई घरमा हुने प्रसूतिमुक्त नगर बनाउन र स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने नगर बनाउन सबै स्वयंसेविकाहरु लाग्नुपर्ने बताए । नगर उपप्रमुख मिश्रा आचार्यले स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त, पूर्ण खोप अभियान लगायतमा स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै बाल तथा मातृ मृत्युदर कम बनाउनमा स्वयंसेविकाहरुको प्रमुख भूमिका रहेको बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताए । गाउँका घरघरमा हिँड्न तथा अत्यावश्यक सामग्री लिएर हिँड्दा झोला र छाता आवश्यक रहेकाले झोला र छाता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । गर्भवती तथा सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update