Shittalpati
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट

पाल्पा,  जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।

उसले आर्थिक वर्षको लागि ५७ करोड ७४ लाख ९४ हजार बराबरको बजेट ल्याएको छ । पालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको हो । पालिकाले चालुतर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट ल्याएको छ । सबैलाई समेट्ने गरी बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । बजेटले सबै क्षेत्रको प्रतिनिधित्व गरे पनि स्वास्थ्यलाई बढी केन्द्रीत गरिएको उनले बताए । नागरिकलाई स्वस्थ्य राख्नु पालिकाको जिम्मेवारी रहेको भन्दै उनले बजेट पनि बढी विनियोजन गरिएको बताए ।

माथागढीको समग्र विकासलाई आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताईन् । योजना समानुपातिक ढंगले ल्याइएको उनको भनाई छ । शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणमा पनि बजेटले प्राथमिकता पाएको छ । स्थानीय सरकार नै जनताको घरदैलोको सरकार भएकाले यसलाई श्रोत साधनबाट बलियो बनाउने गरी आफुहरु अगाडि बढेको अध्यक्ष चिदीको भनाई छ । सिंहदरवारमा रहेको अधिकारलाई आफुहरुले जनताको घर दैलोसम्म पुर्याउने प्रयास गरिरहेको उनको भनाई छ ।जनप्रतिनिधी र कर्मचारीहरुसँगको सहकार्यमा विकास निर्माण तथा बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने अध्यक्ष चिदीले बताए । जनताको पहिलो प्राथमिकता गासँ ,बास भएकाले सोही कुरालाई आधार बनाएर आफुहरु लाग्ने उनको भनाई छ । माथागढी क्षेत्रमा पेश भएको बजेट तथा नीति कार्यक्रममा सबै पक्षलाई समेटिएको, सबैका भावना विचार र अभिव्यक्तिहरुको सम्मान हुने गरी कार्यक्रम ल्याइएको बताए ।

पालिकाले नीति कार्यक्रम तथा योजना र बजेट ल्याउनुपूर्व सबै पक्षसँग छलफल गरेको जनाएको छ । उसले राजनीतिक दल समाजसेवी र सरोकारवालाहरुको सुझाव अनुरुप नै बजेट र कार्यक्रम ल्याएको जनाएको छ । सबैबाट आएको सुझावलाई नीति, कार्यक्रममार्फत बजेटमा समावेश गरिएको पालिका अध्यक्ष चिदीले बताए । उनले पालिकाको आर्थिक, सामाजिक विकास गरी देशकै नमूना पालिका बनाउने दिशामा आफुहरु अगाडि बढेको बताए । पालिकाको विकासमा फरक पन ल्याई जनतालाई फरक अनूभूति दिने गरी यस पटकको नीति, कार्यक्रम र बजेट ल्याइएको उनको भनाई छ । उनले पालिकालाई भ्रष्टचार, अनियमितामुक्त पालिका बनाउने समेत बताए ।

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update