रामपुर (पाल्पा), रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
बुधबार मात्रै रामपुरमा तीनवटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । यहाँको वडा नं ४, ७ र ९ मा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना निर्माण गरिएको हो । वडा नं ४ मा २८ लाख ८५ हजार ५ सय ७९ को लागतमा भवन निर्माण गरी सेवा दिइएको छ । भ्याटबाहेक ३० लाख २० हजार ८ सय ५ मा ठेक्का सम्झौता भएको सो भवन एकतले तीन कोठासहित निर्माण गरिएको हो । त्यसैगरी ७ मा ३२ लाख ३४ हजार ५ सय ४० र वडा नं ९ मा ३३ लाख ९५ हजार ८ सय १३ को लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । नगर स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले रामपुर नगरभित्र सबै स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन भएको बताए । रामपुर नगरभित्र एक ५० शयैयाको रामपुर अस्पताल, चारवटा स्वास्थ्य चौकी (गाँडाकोट, दर्छा, खालिवन र गेझा), पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र, सातवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ‘नगरपालिकाभित्र कुनै पनि स्वास्थ्य संस्था भाडामा नरहेको र अबको एकवर्षभित्र नयाँ बन्न बाँकी रहेका सबै स्वास्थ्य संस्थाको भवन निर्माण सक्ने योजना छ, वडा नं १ को चण्डिहान, ३ को गण्डकीढिक, १० को जगटेआँपमा पक्की स्वास्थ्य भवन बन्नेछ’, प्रमुख घिमिरेले भने । रामपुर–४ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रले नागरिकलाई स्वास्थ्य सेवामा राम्रो सुविधा पुगेको बताए । करिब एक घण्टा बढीको समय पैदल हिँडेर स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या अहिले वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनबाट औषधोपचार सेवा पाउँदा नागरिकलाई ठूलो राहत पुगेको हसिना मियाँ बताउन्छिन् । उनी भन्छिन्, ‘सामान्य औषधोपचारका निम्ति एक घण्टा धेरै समय हिँडेर रामपुर अस्पतालमै जानुपर्ने बाध्यता थियो, घर नजिकै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट आफूले भनेको समयमा सेवा पाइएको छ, हामी यसमा धेरै खुसी छौँ ।’
स्वास्थ्य केन्द्रको भवन नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै स्वास्थ्यलाई प्राथमिकता दिएर आवश्यक संरचना बनाएर सेवा विस्तार गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले सबैलाई पायक पर्ने ठाउँमा नगरपालिकाले स्वास्थ्य संरचना निर्माण गरेको हँुदा भरपुर सेवा लिन अनुरोध गरेका छन् । आधारभूत स्वास्थ्य केन्द्रबाट ओपिडी, बिपी, सुगर, प्रेसर, डे«सिङ, परिवार नियोजनदेखि आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ । दैनिक ५० जना बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको आधारभूत स्वास्थ्य केन्द्र देवीस्थानका स्वास्थ्य सहायक सकिला बानु बताउन्छीन् । –रासस


                                        
                                        
                                        
                                        
                    
                    
                    