Shittalpati
गुल्मीमा लकडाउनले नपुगेपछि कर्फ्यू

गुल्मी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड-१९) को संक्रमण फैलिन नदिन जिल्लामा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको छ ।

जिल्लामा कोरोना सतर्कता अपनाउनका लागि अत्याआवश्यक अवस्थामा बाहेक आवत जावतमा प्रतिबन्ध लगाएपछि पनि सर्वसाधारणले हिँडडुल गर्न र दैनिकी नछाडेपछि कर्फ्यू नै जारी गर्नु परेको हो । सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि देशैभर लकडाउन घोषणा गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । सर्वसाधरणले संक्रामक रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको अवज्ञा गरेपछि कर्फ्यू नै लगाउनु पर्ने अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधी बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । निषेधाज्ञा अवधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोल पम्प २४ सौं घण्टा खुला रहने छन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरी तोकिएको समयमा सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञा उल्लंघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही हुने निषेधाज्ञासम्बन्धी सूचनामा उल्लेख गरिएको छ । कर्फ्यू जारी गरेपछि प्रशासनलाई सर्वसाधरणको दैनिकी नियन्त्रण गर्न बढी बल प्रयोग गर्ने अधिकार प्राप्त हुन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update