Shittalpati
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर

पाल्पा,     जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्याक्टर दिइएको छ । गाउँ सरकारले यहाँका किसानहरुको कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर दिएको हो । गाउँपालिका भित्रका ७१ जना किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन् । उनीहरुले हाते ट्याक्टर पाएपछि खेतबारी खनजोत गर्न आफुहरुलाई सहज हुने र उत्पादन पनि बढाउन सकिने बताएका छन् । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए । आधुनिक प्रविधिबाट खेतबारी खनजोत गर्न र उत्पादन वृद्धि गरी पालिकाका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन हाते ट्याक्टर दिइएको अध्यक्ष भट्टराईको भनाई छ । उनले भने ‘बाँझो जमिनको भरपुर उपयोग गरी व्यवसायी कृषिमा पालिकावासीलाई लगाउने योजना गाउँ सरकारको छ ।’ परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने र गाउँपालिकालाई कृषि हवको रूपमा विकास गरिने अध्यक्ष भट्टराईले बताए । पालिकाका अधिकाश नागरिकहरू कृषि प्रणालीमा जोडिएको तर परम्परागत निर्वाहमुखी कृषि प्रणालीका कारण नागरिकहरूको जीवनस्तर माथि उकास्न नसकेका कारण पालिकाले यसतर्फ विशेष चासो दिएको उनले बताए ।

पालिकाको समृद्धि कृषिबाटै सम्भव रहेकाले यहाँका किसानहरुलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्न थालिएको पालिका उपाध्यक्ष युवराज थापाले बताए । व्यवसायिक कृषि प्राणालीलाई आगामी नीति तथा कार्यक्रममै समावेश गर्ने गरी पालिका अगाडि बढेको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताए । यहाँ कृषिका लागि उर्वरभूमि रहेकाले पनि गाउँपालिकाले विगतदेखि नै कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । पालिकाका संस्थापक अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरालाई मकैको विउ उत्पादन क्षेत्रको रुपमा अगाडि बढाउनुको साथै तरकारीको पकेट क्षेत्रको रुपमा समेत अगाडि बढाएका थिए । त्यो कार्यक्रमलाई पालिकाले अहिले पनि निरन्तरता दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update