Shittalpati
नागरिकलाई अनावश्यक बाहिर नहिड्न गुल्मीका प्रजिअको आग्रह

गुल्मी, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अनावश्यक बाहिर नहिड्न नागरिकलाई आग्रह गरेका छन् । प्रजिअ शर्माले जिल्लाका पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा विश्वव्यापी रुप फैलिरहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप नागरिकलाई अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेका हुन् ।

अनाश्यकरुपमा बाहिर हिँडडुल गर्दा कोरोना संक्रमण बढ्ने खतरा भएकाले नागरिकलाई विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र स्थितिको बारेमा पत्रकारहरुबाट जानकारी लिएका थिए । भेटघाटमा उनले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप जिल्ला प्रशासन कार्यालयले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । जिल्लाको समग्र आपूर्ति, खाद्यान्न, औषधी लगायत सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिइसकेको र तत्काल कुनै समस्या नरहेको बारेमा पत्रकारहरुसँग जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । भेटघाटमा पत्रकारले कृत्रिम अभाव सिर्जना हुनसक्ने तथा बढी मूल्य लिन सक्ने हुँदा जिल्लामा बजार अनुगमन बढाउनु पर्ने बताएका थिए । प्रशासनले कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि सचेतनामूलक कार्यक्रमहरुमा जोड दिएको छ । कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि जिल्लाका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गर्ने बारे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी गराएका थिए ।

जिल्ला स्थानीय तहहरुले आवश्यक औषधी व्यवस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लामा औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यवस्था गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । –पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update