Shittalpati
सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ?

पाल्पा, यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ । विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा समायोजना भएसँगै यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।

भाडा समायोजन भएपछि २ सय ९८ किमी दुरी रहेको काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम भएको छ । यस अघि ८ सय ९६ रुपैयाँ रहेको थियो । ३ सय ९ किमी दुरी रहेको काठमाडौं–हार्थोक(पाल्पा)का लागि ९ सय १९ भाडा दर कायम भएको छ । यहाँ यस अघि ९ सय ३८ रुपैयाँ रहेको थियो । यस्तै ३ सय ७६ किमी दुरी रहेको काठमाडौं– तम्घासको भाडादर एक हजार दुई सय एक रुपैयाँ कायम गरिएको छ । यहाँ यस अघि एक हजार २ सय २५ रहेको थियो । यस्तै २ सय ५९ किमी दुरी रहेको काठमाडौं–बुटवलको भाडा दर ७ सय ४२ कायम भएको छ । यस रुटमा यस अघि ७ सय ५७ रहेको थियो ।

नेपाल आयल निगमले बिहीबार बेलुकी पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाउने प्रावधान हरेको छ । सोही प्रावधान अनुसार दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update