Shittalpati
पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

पाल्पा, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा भएको कर घटाएपछि आयल निगमले मूल्य समायोजन गरेको हो । विहीबार राति १२ बजेदेखि भने पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ र डिजेल र पेट्रोलको मूल्य १ सय ५३ रुपैँया कायम भएको छ । तर, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ । यसअघि पेट्रोलको मूल्य १ सय ८०, डिजेल र मट्टितेलको मूल्य १ सय ६३ कायम गरिएको थियो ।

पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउन गर्न अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार कर समायोजन गर्नु भन्दै अर्थले पत्राचार गरेको हो । मन्त्रिपरिषदले पेट्रोल–डिजेलमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर हटाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि आर्थिक विधेयकबाट सम्बोधन हुनुपर्दछ । तर अर्थ मन्त्रालयले बुधबार वाणिज्य मन्त्रालयलाई मूल्य समायोजन गर्न भन्दै पत्राचार गरेको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण निगमको नोक्सानी चुलिएको छ । मूल्य समायोजनपश्चात् निगमलाई पेट्रोलमा ३१ रुपैयाँ ४१ पैसा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७ रुपैयाँ ५१ पैसा घाटा छ । मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update