Shittalpati
कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसको कति ?

पाल्पा, सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुने गरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको बताए । सरकारले खाइपाई आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ ।

अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँ महँगी भत्ता बढाएको थियो । बजेट वक्तव्य अनुसार निजामती, सेना, प्रहरी, शिक्षक लगायतका कर्मचारीको तलब वृद्धि भएको हो । कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च राख्न विद्यमान महँगी भत्ता कायम राखी तलब वृद्धि गरिएको छ । तलब बढेसँगै कर्मचारीहरुको तलब ३४ सय देखि १० हजार रुपैँयासम्म वृद्धि भएको छ । खरदारको तलबमा ४२ सय रुपैँया वृद्धि हुँदा मुख्य सचिवको तलब दस हजारसम्म वृद्धि हुनेछ । सरकारका मुख्यसचिवको १० हजार ७१ रुपैयाँ बढेर ग्रेडदर बाहेक ७७ हजार २ सय ११ रुपैयाँ पुगेको छ । मुख्यसचिवले अहिले ६७ हजार १ सय ४० रुपैयाँ पाउने गरेका छन् । मासिक ६२ हजार ६ सय ८० रुपैयाँ पाउँदै आएका सरकारका सचिवहरूको तलबमा ९ हजार ४ सय ९० रुपैयाँ वृद्धि भएर ग्रेडदरबाहेक ७१ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । सहसचिवको तलबमा ७ हजार ४ सय ७ रुपैयाँ वृद्धि भएको छ । अब ग्रेडदर बाहेक सहसचिवले ५६ हजार ७ सय ८७ रुपैयाँ पाउनेछन् । उपसचिवको ६ हजार ३ सय ५७ र शाखा अधिकृतको ५ हजार ६ सय ९८ रुपैयाँ तलब वृद्धि भएको छ । अब उपसचिवले ४८ हजार ७ सय ३७ र शाखा अधिकृतले ४३ हजार ६ सय ८९ रुपैयाँ पाउनेछन् । त्यस्तै, राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको तलबमा ४ हजार ५ सय ३० रुपैयाँ, द्वितीय श्रेणीको ४ हजार २ सय ९१, तृतीय श्रेणीको ३ हजार ६ सय १ र चतुर्थ श्रेणीको ३ हजार ४ सय २ रुपैयाँ वृद्धि भएको छ । अब ग्रेडदरबाहेक राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले ३४ हजार ७ सय ३०, द्वितीय श्रेणीकाले ३२ हजार ९ सय २, तृतीय श्रेणीकाले २७ हजार ६ सय ११ र चतुर्थ श्रेणीकाले २६ हजार ८२ रुपैयाँ तलब पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update