Shittalpati
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने

पाल्पा, जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय, बुटवलले जेठ १७ गतेदेखि २१ गतेसम्म नापतौल यन्त्रहरु नापजाँच गर्ने भएको हो । ऐन र नियमानुसार व्यवसायीहरूको नाप्नेरतौलने यन्त्रहरू जाँच, नवीकरण तथा अनुमतिपत्र वितरणका लागि टोली खटिने पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघको सभाहल, ताँहु, आर्यभञ्ज्याङ्ग, हार्थोक, अर्गली, बतासे, बर्तु, प्रभास, बाँसटारी र सराई बजारमा नापतौल यन्त्र नापजाँच गरिने संघका लेखा प्रमुख सरोजलाल शाक्यले बताए । उनका अनुसार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा उपलव्ध गराइने छ । नापतौल यन्त्रहरू नियमित गराउने अभियान अन्तर्गत उक्त कार्य गरिने भएको हो । केही ठाउँहरुमा मापदण्ड विपरीतका ढक÷तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गरेका खबरहरु आइरहेका बेला संघले जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको जाँच्न पहल गरेको हो । नापतौल तथा मापन यन्त्र प्रयोग गर्दा दर्ता तथा नवीकरण अनिवार्य गर्नुपर्ने नापतौल ऐन तथा नियमावलीमा स्पष्ट लेखिएको छ । नियमावली अनुसार ६ कुना भएको ढक, स्प्रिङ तराजु, मानापाथी र ढुंगाईंटा लगायत कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन । तर ऐन नियमावली समय सान्दर्भिक नहुँदा नापतौतमा उपभोक्ता ठगिदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update