Shittalpati
गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार

गुल्मी, चैत २५ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन भएको गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको बचत २१ लख २७ हजार ६ सय ९१ रहेको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवमा गरिएको कारोबारको जानकारी गराएको छ । महोत्सवको आर्थिक व्यवस्थापन समितिका संयोजक रामप्रसाद पन्थीले कुल ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँको आयव्य प्रस्तुत गरेका थिए । कुल रकम मध्ये विभिन्न शिर्षकमा ६१ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको पन्थीले बताए । महोत्सवमा टिकट, स्टल, रमाइलो मेला र प्रायोजक सहयोगबाट आम्दानी भएको आयोजकले जनाएको छ ।

मेलामा कलाकार, स्टल निर्माण, यातायात/ खाना वास, साउण्ड सिष्टम, सुरक्षा खर्च, प्रचार–प्रसार कार्यालय व्यवस्थापन सम्पूर्ण खर्च, मञ्च गेट निर्माण शिर्षकमा खर्च भएको जानकारी गराइएको थियो । महोत्सवमा विभिन्न संघ संस्थाबाट ६ लाख ५० हजार रकम उठन बाँकी रहेको आयोजकले जनाएको छ । महोत्सव आयोजकले सोचे अनुसार नै पूर्ण रुपमा सफल भएको र सम्पन्न गर्न सहयोग गर्ने सबैलाई संघका अध्यक्ष ईश्वरीप्साद पौडेलले धन्यवाद दिए । १२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोबार भएको थियो । महोत्सवका लागि २ सय स्टल राखिएको थियो ।

महोत्सव अवलोकनका लागि करिव ६० हजारले टिकट काटेका थिए । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन्् । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्वद्धनसँगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गरिएको भुसालले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update