Shittalpati
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग

पाल्पा, सरकारले स्थानीय तहको निर्वाचनपछिका १० दिनमा मात्रै दुईपटक इन्धनमा मूल्य बढाएपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका हुन् । मंगलबार १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुले उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । विद्यार्थी संगठले मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।

यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक कर बारे पुनर्विचार गर्नुपर्ने, बैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियन लगायतका १५ विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् । यस्तै इन्धनमा भएको मूल्यवृद्धिप्रति सांसदहरुले समेत चासो देखाएका छन् । उनीहरुले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरु राजेन्द्र प्रसाद लिङ्देन र गणेशकुमार पहाडीले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ माग गरिएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा २ सय वृद्धि गरेको छ । पछिल्लो नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टीतेल १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको १८ सय, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ पुगेको निगमले जनायो । निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि १५ दिनको नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update