Shittalpati
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’

पाल्पा, तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सुपथ पसलको उद्घाटन गरेका हुन् । बजारको मूल्यमा एकरुपता माल्याउन तथा सहज सेवा प्रदान गर्न सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख शाहीले बताए । उनले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा उपलब्ध गराउनुपर्ने बताए । तानसेन नगरपालिका वडा ७ का वडाध्यक्ष मुक्तिराम जिसी, तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको माग अनुसार दैनिक उपभोग्यवस्तु बिक्री गर्दा मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिनुपर्ने बताए । बर्तु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विधान श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरु बिक्रीमा राखिने बताए । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल श्रेष्ठले बताए । तीनलाख ५० हजारको लगानीबाट सुरु गरेको पसलमा असार मसान्तसम्म ५० लाख बराबरको लगानी गर्ने योजना रहेको उनले बताए । सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराईएको छ । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताए । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता उत्साहित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update