Shittalpati
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता

काठमाडौं, चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २ सय ८१ ठूला, एक हजार ९ सय ९१ मझौला र पाँच हजार ४ सय १५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २ सय ३२ उद्योगमा दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब थियो । हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३ सय ५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

कम्पनी रजिष्टार कार्यालयमा अत्यावश्यक सेवा

कम्पनी रजिष्टारको कार्यालयले कर्मचारीको अभावमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा अधिकांश कर्मचारी खटिएकाले यही वैशाख २३ गतेदेखि अत्यावश्यक परेका कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेख सम्बन्धी काम मात्र सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अत्यावश्वक बाहेक अन्य कार्य स्थानीय तह निर्वाचन पश्चात पूर्णरुपमा सञ्चालनमा आउने उपरजिष्टार अच्युत ढुङ्गानाले जानकारी दिए । यही वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ । –रासस

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update