Shittalpati
तानसेनमा ‘आगन सुपथ पसल’

पाल्पा, तानसेनको मेहलधारामा ‘आगन सुपथ पसल’ सञ्चालनमा आएको छ । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले तानसेन नगर सरकारको आर्थिक सहयोगमा सुपथ पसल सञ्चालनमा ल्याएको हो । मँहगीको मारमा परेका उपभोक्ताहरुलाई रहात प्रदान गर्न सहकारीले सुपथ पसल सञ्चालनमा ल्याएको जनाएको छ । सुपथ पसल सञ्चालनले उपभोक्ताहरुलाई ठूलो राहत मिल्ने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए । उनले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन सहकारीलाई आग्रह गरे । बजारको मूल्यमा एकरुपता ल्याउन आगन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उनले विश्वास व्यक्त गरे ।

व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न नगर प्रमुख शाहीले सुझाव दिए । सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने गरिएको सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताए । सहकारीले पहिलो चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध गराउदै आएको छ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने अध्यक्ष भट्टराईले बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बिक्रीमा राखिने उनले बताए । तानसेन नगरपालिकाको ९ लाखसहित करिब २५ लाख लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । उपभोक्ताको माग अनुसारका सामग्री घरमै पु¥याउने व्यस्थासमेत रहेको सहकारीले जनाएको छ ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताए । उनका अनुसार नगरपालिकाले ९ लाख सहयोग गरेको छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उनले बताए । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उनले बताए । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने बताए । तानसेन नगरपालिकास्तरीय सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्ने बताए । सहकारीका उपाध्यक्ष गोपाल प्रसाद बस्याल, सचिव मिलन विश्वकर्माले नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update