Shittalpati
कोरोना सचेतना, जनतालाई सजग बनाउँदै स्थानीय सरकार

रामचन्द्र रायमाझी
पाल्पा । हातमा माक्स र साबुन लिएर शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिना वडाको एक दलित वस्तीमा पुगे । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिलाई हातमा माक्स र साबुन लिएर घरमै आएको देख्दा स्थानीय एकछिन अचम्मित भए ।

जब वडाअध्यक्ष तिमिल्सिनाले कोरोनाबाट बच्न सबैले माक्स लगाउने र काम गरेपछि राम्रोसँग हात धुनुपर्छ भन्दै सबैको हात हातमा माक्स र साबुन थमाउन थाले तब मात्र स्थानीयले बुझे र हाँस्दै माक्स प्रयोग गर्न थाले । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले नेपालमा पनि संक्रमण फैलाउने त्रासले चिन्तित बनेका वडावासीहरुमा पूर्व सतर्कता र सचेतना जगाउन स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीका, जनप्रतिनिधि र पत्रकारको टोलीसहित अध्यक्ष तिमिल्सीना वडाको दलित बस्ती बगनासमा पुगेका हुन् । कोरोना भाईरस भित्रिन नदिनका लागि सरकारले विभिन्न प्रयासहरु गर्दै आएको सन्दर्भमा वडाले जनताको आत्मबल बढाउन र थप सावधानीतर्फ सचेत गराउन घरदैलो अभियान सञ्चालन गरेको छ । अभियानमा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस के हो ? यसबाट बच्न के के गर्नुपर्छ, ? हात धुने तरिका लगायतका विषयमा प्रयोगात्मक किसिमले स्वास्थ्य शिक्षा दिएका थिए । कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम रहेकाले आत्मबल बढाउन र थप सावधानी तर्फ सचेत गराउन वडाका प्रत्येक टोल टोलमा वडा कार्यालयले घरदैलो अभियान सञ्चालन गरेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, ‘यतिबेला जताततै कुरा कोरोना कै छ । जसका कारण स्थानीयहरु त्रसित अवस्थामा पनि छन् । यसको औषधी नभएपनि सावधानी अपनाउन सके बच्न सकिने हुनाले सर्तकता अपनाउन र हत्तोत्साहित नहुन् भन्नका लागि घर दैलो सुरु गरिएको हो ।’ अध्यक्ष तिमिल्सिनाले अहिलेको अवस्थामा सकभर हात नमिलाउन सल्लाह दिदै र नमस्कार गर्दै कोरोना भाइरस सम्बन्धी सजग र सचेत हुन वाडावासीलाई अनुरोध गरे ।

अभियानमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले नेपालमा हाल कोरोना भाइरस नभित्रिए पनि पूर्व सतर्कता र सजग भने हुन स्थानीयलाई आग्रह गरे । उनले काम गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन आग्रह गर्दै अनावश्यक रुपमा अनुहारमा हात नलैजान समेत सुझाव दिए । अभियानमा चापपानी स्वास्थ्यचौकी प्रमुख सिर्जना चाँपागाई, स्वास्थ्यकर्मी मोहनलाल घिमिरेले हात धुने तरिका सिकाएका थिए । हात धुन सिकाउँदै स्वास्थ्यचौकी प्रमुख चाँपागाईले काम गरेर आईसकेपछि कम्तीमा पनि एक मिनेट राम्रोसँग हात धुने, घरवरपर सधै सफा राख्नुपर्ने, हाछ्याँउ गर्दा रुमालले मुख समात्ने, भिडभाँडमा जान नहुने र माक्सको प्रयोग गर्न आम नागरिकलाई आग्रह गरिन् ।

टोलमा पनि कोरोनाका विषयमा डर, त्रास पैदा भएको बेला जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले घरमै आएर सर्तक र सचेत रहन आवश्यक स्वास्थ्य शिक्षा दिँदा आफुहरुलाई खुसी र ढुक्क रहेको स्थानीय गीता विक र हरिप्रसाद श्रेष्ठले बताए । हल्लै हल्लाले कतै मरिने पो होकी भन्ने चिन्ता लागेको बेला वडा कार्यालयले दिएको सचेतनाले भने आफु ढुक्क बनेको उनीहरु बताउँछन् । वडा सदस्य पिताम्बर गाहा, स्वास्थ्यकर्मी गीतादेवी श्रेष्ठ, महिला स्वयम्सेविका चिनिमाया श्रेष्ठ, पत्रकार लगायतको टोली अभियानमा सहभागी भएको थियो । त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरुले पनि कोरोना भाईरस विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेका छन् । रामपुर नगरपालिका र माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानीय तहहरुले पनि कोरोना भाईरस विरुद्ध सचेतनामूलक घर दैलो अभियान सञ्चालन गरेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update