Shittalpati
बगनासकाली गाउँपालिकाका वडा अध्यक्ष हातमा माक्स र सावुन लिएर पुगे दलित वस्तीमा

रामचन्द्र रायमाझी
पाल्पा । हातमा माक्स र साबुन लिएर शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिना वडाको एक दलित वस्तीमा पुगे । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिलाई हातमा माक्स र साबुन लिएर घरमै आएको देख्दा स्थानीय एकछिन अचम्मित भए ।

जब वडा अध्यक्ष तिमिल्सिनाले कोरोनाबाट बच्न सबैले माक्स लगाउने र काम गरेपछि राम्रोसँग हात धुनुपर्छ भन्दै सबैको हात हातमा माक्स र साबुन थमाउन थाले तब मात्र स्थानीयले बुझे र हास्दै माक्स प्रयोग गर्न थाले । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले नेपालमा पनि संक्रमण फैलाउने त्रासले चिन्तित बनेका वडावासीहरुमा पूर्व सतर्कता र सचेतना जगाउन स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीका,जनप्रतिनिधि र पत्रकारको टोलीसहित अध्यक्ष तिमिल्सिना वडाको दलित बस्ती बगनासमा पुगेका हुन ।

कोरोना भाईरस भित्रिन नदिनका लागि सरकारले विभिन्न प्रयासहरु गर्दै आएको सन्दर्भमा वडाले जनताको आत्मबल बढाउन र थप सावधानीतर्फ सचेत गराउन घरदैलो अभियान सञ्चालन गरेको छ । अभियानमा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस के हो ? यसबाट बच्न के के गर्नुपर्छ, ? हात धुने तरीका लगायतका विषयमा प्रयोगात्मक किसिमले स्वास्थ्य शिक्षा दिएका थिए । कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम रहेकाले आत्मबल बढाउन र थप सावधानी तर्फ सचेत गराउन वडाका प्रत्येक टोल टोलमा वडा कार्यालयले घरदैलो अभियान सञ्चालन गरेको अध्यक्ष तिमिल्सेनाले बताए । उनले भने, ‘यतिबेला जताततै कुरा कोरोना कै छ ।

जसका कारण स्थानीयहरु त्रसित अवस्थामा पनि छन् । यसको औषधी नभए पनि सावधानी अपनाउन सके बच्न सकिने हुनाले सर्तकता अपनाउन र हत्तोत्साहित नहुन् भन्नका लागि घर दैलो सुरु गरिएको हो ।’ अध्यक्ष तिमिल्सिनाले अहिलेको अवस्थामा सकभर हात नमिलाउन सल्लाह दिदै र नमस्कार गर्दै कोरोना भाइरस सम्बन्धी सजग र सचेत हुन वाडावासीलाई अनुरोध गरे ।

अभियानमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले नेपालमा हाल कोरोना भाइरस नभित्रिए पनि पूर्व सतर्कता र सजग भने हुन स्थानीयलाई आग्रह गरे । उनले काम गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन आग्रह गर्दै अनावश्यक रुपमा अनुहारमा हात नलैजान समेत सुझाव दिए । अभियानमा चापपानी स्वास्थ्यचौकी प्रमुख सिर्जना चाँपागाई,स्वास्थ्यकर्मी मोहनलाल घिमिरेले हात धुने तरिका सिकाएका थिए ।

हात धुन सिकाउदै स्वास्थ्यचौकी प्रमुख चाँपागाईले काम गरेर आईसकेपछि कम्तीमा पनि एक मिनेट राम्रोसँग हात धुने, घरवरपर सधै सफा राख्नुपर्ने, हाछ्याँउ गर्दा रुमालले मुख समात्ने, भिडभाँडमा जान नहुने र माक्सको प्रयोग गर्न आम नागरिकलाई आग्रह गरिन् । टोलमा पनि कोरोनाका विषयमा डर, त्रास पैदा भएको बेला जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले घरमै आएर सर्तक र सचेतना रहन आवश्यक स्वास्थ्य शिक्षा दिदाँ आफुहरुलाई खुसी र ढुक्क रहेको स्थानीय गिता विक र हरिप्रसाद श्रेष्ठले बताए । हल्लै हल्लाले कतै मरिने पो होकी भन्ने चिन्नता लागेको बेला वडा कार्यालयले दिएको सचेतनाले भने आफु ढुक्क बनेको उनीहरु बताउँछन् । वडा सदस्य पिताम्बर गाहा, स्वास्थ्यकर्मी गितादेवी श्रेष्ठ,महिला स्वयमसेवीका चिनिमाया श्रेष्ठ, पत्रकार लगायतको टोली अभियानमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update