Shittalpati
घरेलु मदिरा र अवैध व्यापार

पाल्पाका ग्रामीण बस्तीहरुमा घरेलु मदिराको उत्पादन बढ्दै गएको छ । मदिरा उत्पादन र त्यसको प्रयोगका कारण शान्ति सुरक्षामा आँच आउनुको साथै जनस्वास्थ्यमा समेत उत्तिकै असर पु¥याउने भए पनि यसको प्रयोग भने दिनप्रतिदिन बढ्दै गएको छ । पाल्पाका प्रमुख बजार र आसपासका क्षेत्रमा अवैध मदिराको व्यापार मौलाउँदै गएको छ । गुणस्तर चिन्ह प्राप्त मदिराको व्यापार त अलग्गै छ, राज्यले कर असुलेर विक्री वितरण गर्न दिएकै छ ।

तर विभिन्न अखाद्य वस्तुको प्रयोग गरेर जिल्लाका बजारमा घरेलु मदिरा खुल्लमखुल्ला उत्पादन र विक्री वितरण पनि बढिरहेको छ । जिल्लामा अधिकाश होटल रेष्टुरामा पाखनवेद, चुत्रा, कोदो, चिउरी, कनिका लगायतका विभिन्न स्थानीय लेवलका घरेलु रक्सी विक्रि भईरहेका छन् । पाल्पाको तानसेनमा नायरनमतलेस, खानीछाप, चिलाङदी, चिरर्तुङ्गधारा, भैरवस्थान, रानीठाटी, तेल्घा, सराई जस्ता स्थानबाट विभिन्न किसिमका सवारी साधनमार्फत दैनिक रुपमा ५ सय लिटर भन्दा बढी घरेलु मदिरा भित्रिने गरेको छ ।

सिद्धार्थ राजमार्ग आसपासका बस्ती, मस्याम चर्चरे, कोल्डाडा, झुम्सा, कचल, दोभानबाट दैनिक रुपमा १ हजार लिटर भन्दा बढी घरेलु मदिरा बुटवलका चिया पसल देखी होटल रेष्टुरासम्म पुग्ने गरेको पाइन्छ । घरेलु मदिरा कम पैसामा धेरै पाउन सकिन्छ, त्यसैले महंगो किन्न नसक्ने अधिकांशले घरेलु मदिराको प्रयोेग बढी गर्ने हुँदा यसको उत्पादन पनि बढी रहेको छ । लगानी कम तर फाइदा ठिकै हुने भएकाले घरेलु मदिराको व्यापार चौतर्फी बढेको हो ।

जिल्लाका ग्रामीण क्षेत्रमा खुल्लमखुल्ला मदिरा ओसारपसार भइरहेको छ भने तानसेनमा प्रहरी कार्यालयले निगरानी बढाएपछि हिजोआज लुकिछिपी ओसारपसार हुन थालेको छ । प्रहरीले मदिरा बरामद गर्न थालेपनि उत्पादनमा कमी आउन सकेको छैन । घरेलु मदिराको उत्पादन र व्यापार बढेपछि जिल्लाको शान्ति सुरक्षा र मानव स्वास्थ्यमा समेत चुनौती थपिएको छ । आजसम्म सरकारी स्तरबाट मदिरा नियमन, नियन्त्रण र व्यवस्थापनको निम्ति चालिएका कदम भने प्रभावकारी बन्न सकेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update