Shittalpati
सरकारले फेरि बढायो गाडी भाडा

पाल्पा, सरकारले सार्वजनिक सवारीको भाडा पुन बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ । दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर अनुसार समायोजन गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यात्रुबाहक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १३ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १५ प्रतिशत भाडा समायोजन गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि यातायात व्यवसायीहरूले गाडी भाडा बढाउन माग गर्दै आएका थिए । १३ वटा इन्डिकेटरलाई आधार मानेर भाडा समायोजन गरिएको विभागले जनाएको छ । विभागका अनुसार भाडा समायोजना गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थलाई आधार मानिएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाइएको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update