Shittalpati
मेगा बैंक तानसेन शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम

पाल्पा, मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । उसले तानसेनमा रहेको शिव इन्टिच्युटमा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित इभेन्ट दोस्रो परियोजनामा सहभागी ६० जना प्रशिक्षार्थीहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी गराएको छ ।

कार्यक्रममा बैंकका शाखाका प्रबन्धक विष्णु प्रसाद भण्डारीले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवाका बारेमा प्रष्ट पारेका थिए । उनले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा बैंकका कर्मचारी मनिष आचार्य र प्रकाश रेग्मीले बैंक खाताका प्रकार, डिम्याट खाता, डिजिटल बैंकिङ्ग, तथा बचतको महत्वका बारेमा प्रष्ट पारेका थिए । इन्टिच्युटका कार्यकारी निर्देशक कमलप्रसाद भट्टराईले इन्टिच्युटमा अध्यनरत विद्यार्थीहरुका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा बैंकलाई धन्यवाद दिए । उनले वर्तमान अवस्थामा बंैक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी हासिल गर्नु जरुरी रहेको भन्दै बैंकले आगामी दिनमा पनि साक्षरता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

बैंकले वित्तिय कारोबार, साक्षरता कार्यक्रमसँगै जिल्लामा विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । उसले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धार्मिक स्थलको सरसफाईदेखि वातवरणीय सरसफाई जस्ता कार्यक्रमहरुलाई समेत अगाडि बढाएको छ । आर्थिक कारोवारसँगै बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आएको शाखा प्रवन्धक विष्णुप्रसाद भण्डारीले बताए । उनले भने ‘हामीले वित्तिय सेवा मात्र दिएका छैनौ, विभिन्न संघसंस्थाहरुको सहकार्यमा सामाजिक कार्य समेत गरेका छौ, आगामी दिनमा पनि सामाजिक कार्यमा निजी संघसंस्थाहरुसँग हातेमालो गर्न तयार छौं ।’

बैंकले तानसेनमा अध्याधुनिक बैकिङ्ग सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै आएको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्यमा बैंकले महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update