Shittalpati
नेपालको अर्थतन्त्र जोखिममा : पूर्व गभर्नर नेपाल

रामचन्द्र रायमाझी
पाल्पा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र जोखिममा रहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप जोखिममा रहेको बताएका हुन् ।

पूर्वगभर्नर नेपालले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण बनेको बताए । उनले भने ‘आयात वृद्धि, घट्दो विदेशी मुद्रा सञ्चिती र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र अन्त्यन्त चुनौतीपूर्ण अवस्थामा पुगेको हो ।’ ‘अर्थतन्त्रमा नयाँ–नयाँ समस्या आइरहेका छन् तर त्यसको समाधानमा सरकार गम्भीर छैन’ पूर्वगभर्नर नेपालले भने । विगतमा रेमिट्यान्स घटबढ भइरहने भए पनि विगत ६ महिनादेखि घट्दो दरमा रहेको उनले बताए । नेपालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुग्नुको आन्तरिक कारण ब्याजदर नियन्त्रण गर्न खोजिनु पनि रहेको बताए । ‘घोषित रुपमा ब्याजदर नियन्त्रण गर्न खोज्दाको असर पनि बैंक तथा वित्तीय क्षेत्रमा देखियो’ उनले भने, ‘नेपालमा ब्याजदरमा नियन्त्रण गरिने रहेछ भने सन्देश गयो । सोही कारण विदेशबाट पैसा पनि आएन । नेपालीले पनि विदेशबाट पैसा पठाउन सक्थे सोही कारण पठाएनन् ।’ तर, पछिल्लो समयमा राष्ट्र बैंकले ब्याजदर खुला गरिदिएको छ । राष्ट्र बैंकको पछिल्लो निर्णय भने सही रहेको उनले बताए ।

‘ब्याजदरमा नीतिगत सुधार त गरियो तर बजारमा भएको पैसा अन्यत्र गयो, बजारमा पैसा भएन । यता, पुँजीगत खर्च छैन, पैसा कहाँबाट आउँने ?’ उनले भने । ‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त जोखिममा रहेको छ । सबैभन्दा ठूलो समस्या के भन्दा रेमिटेन्स घटेको छ । रेमिटेन्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिती पनि घट्दै गएको छ । सञ्चिती घट्दै गएर जम्मा ६ महिनाको लागि वस्तु आयात धान्न सक्ने मात्रै छ । यो अझै घट्दै गयो भने अझै गाह्रो पर्छ । इमर्जिङ अर्थतन्त्रको लागि ६ महिना आयात धान्न सक्ने विदेशी सञ्चिती हुनुपर्छ आइएमएफले भन्छ । हामीकहाँ एकदमै थ्रेस होल्डको मार्जिनमा नै आइसक्यो । यस्तो अवस्थामा धेरै चिज गर्न सक्ने अवस्था हुँदैन ।’ नेपालले थपे, ‘अब विदेशबाट लिने ऋण अनुदानको लागि सरकारले तरुन्त पहल गरेर, विदेशी अनुदानको लागि नीति तथा कानूनमा समेत परिमार्जन गरेर जानु आवश्यक छ ।’ त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएको उल्लेख गरे । उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ ।

त्यस्तै पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको द्वन्द्वले नेपालमा इन्धन र खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले इन्धन र खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव समेत दिए । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष रेखिराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update