Shittalpati
मेगा बैंकले हात पार्‍यो दुई अन्तर्राष्ट्रिय अवार्ड

पाल्पा, मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ हात पारेका हुन् । सिंगापुरको वल्र्ड बिजनेस आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ प्रदान गरिएको हो ।

यस्तै नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीइओको इतिहास बनाएकी सीइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ । नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीइओ खुञ्जेली मात्रै हुन् । खुञ्जेलीले यसै वर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । बैंकले गत आर्थिक वर्ष एक करोड ३५ लाख रुपैयाँ कोभिड रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषमा उपलब्ध गराएको थियो । त्यस्तै, यस वर्ष संघीय, प्रदेशिक वा पालिकास्तरीय अस्पताल हरूको आकस्मिक कक्ष तथा बाल कक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत ३ सय ९० जना छात्रालाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update