Shittalpati
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत

पाल्पाली गायक पुरुषोत्तम गैरेले पाल्पालाई चिनाउने गीत ल्याएका छन् । उनले पाल्पाको धार्मिक, साँस्कृतिक, पर्यटन क्षेत्रलाई समेटिएको ‘पाल्पाली ढाका’बोलको गीत ल्याएका हुन् । गायक गैरेले उक्त गीत केही दिन अघि तानसेनबाट लोकापर्ण गरेका छन् । उक्त गीत तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।

गायक गैरेकै शब्द रहेको गीतमा पाल्पाली ख्यातीप्राप्त गायक एवं गायिकाहरुले नै स्वर दिएका छन् । वरिष्ठ गायक नारायण रायमाझी, गायक सेमन्तमणि खराल, पुरुषोत्तम गैरे, गायिकाहरु कमला पोखरेल, जमुना राना, धनमाया दिशुवाले गीतमा स्वर दिएका छन् । गायक गैरेकै निर्देशनमा तयार भिडियोमा जिल्लाका पर्यटकीय, धार्मिक, साँस्कृतिकसंगै अन्य पहिचानका दृश्यहरुलाई समेटिएको छ । सन्तोष बस्यालको छायांकन र दीपक विष्टको सम्पादन रहेको भिडियो गायक गैरेको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । गायक गैरेले आफू जन्मे, हुर्केको ठाउँको लागि केही गर्नुपर्छ भन्ने सोँचले यो गीतको निर्माण भएको बताउँछन् । पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घा स्थायी घर भएका गैरे विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । ‘बादलमाथि घामकै छायाँ हो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका गैरेका ‘बुटवल तनहुँ खैरेनी’, ‘पिंजडाको चरी’, ‘जाले रुमाल बैना’ लगायतका गीतहरु स्रोता एवं दर्शकले निकै रुचाएका छन् । पछिल्लो समय उनले आफ्नो सांगीतिक यात्रालाई अझ सक्रिय बनाउँदै लगेका छन् । केही दिनमा ‘सुधार केन्द्र’ बोलको मार्मित खालको गीत ल्याउने तयारीमा समेत रहेको गायक गैरेले जानकारी दिएका छन् । उनले अहिले सम्म दर्जनौं लोक तथा दोहोरी गीत ल्याईसकेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update