Shittalpati
निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने

पाल्पा, स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने बताएको हो । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ ।

राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मरवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ । ५० हजारभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ । दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएपछि लगानीयोग्य तरलताको समस्या झेलिरहेका बैंक तथा वित्तीय संस्थाहरूको लागि केही राहत हुने देखिएको छ ।

निर्वाचन आचार संहिताले बहालवाला स्थानीय तहका पदाधिकारीले फेरि निर्वाचनमा उठ्दा वर्तमान कार्यकालको बेरुजु फस्र्याेट पनि गरेको हुनुपर्ने उल्लेख गरेको छ । यसबाट बेरुजु फस्र्याेटमा सहयोग हुने आयोगको अपेक्षा छ । साथै, स्थानीय तहको आउँदो वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा राजीनामा गर्नुपर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update