Shittalpati
महिलाहरुका लागि आकर्षक बचत खाता

पाल्पा, सनराइज बैंकले महिलाहरुका लागि विशेष योजना ल्याउन लागेको छ । बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु सहित ‘नारी बचत खाता’ ल्याउन लागेको हो । उसले चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउन लागेको जनाएको छ । बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्ताहरुलाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ । साथै, यस खातामा घातक रोगमा पाँच लाख रुपैयाँसम्मको उपचार खर्च, पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपैयाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइने छ ।

सरकारी अस्पतामा डेलिभरी हुँदा मात्रै उक्त नगद पाउने भएकाले यो प्रोडक्ट मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै ल्याएको बैंकले जनाएको छ । महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले विशेष साथ दिएको बताइएको छ । महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बताउँदै बैंकले यसबाट महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने आशा लिएको छ । बैंकले यस्तो स्वास्थ्य बीमा योजना उपचार खर्च नेपालको अस्पतालहरु बाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा पनि पाइने र सिंगारपुर तथा थाइल्याण्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको बताएको छ । बैंकले आफूहरुले बचतकर्ताहरुका लागि उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमालाई परिस्कृत गर्दै फरक र आकर्षक सुविधाहरु प्रस्तुत गर्दै आएको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update