Shittalpati
कुसुम सहकारीले गर्‍यो महिलाहरुलाई सम्मान

पाल्पा, तानसेनमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका उद्यमी तथा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरेको छ । सहकारीले आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महिलाहरुलाई सम्मान गरेको हो ।

महिला दिवसको अवसरमा पारेर सहकारीले उद्यमी, मानअधिकारकर्मी, महिला अधिकारकर्मीहरुलाई सम्मान गरेको छ । उसले पाल्पा ढाका संघकी अध्यक्ष तथा पाल्पाली ढाका उत्पादनको सुरुवात गर्ने उद्यमी पूर्णमाया महर्जन,महिला अधिकारकर्मी मैयाँ देवि घिमिरे,मानव अधिकारकर्मी गिता शर्मा,महिला अधिकारकर्मी रमा पन्त, सित्तम भण्डारी, एकल महिला तुल्सा गैरे लगायतलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथी तथा संस्थाका सल्लाहकार विमल काफ्लेले आर्थिक र सामाजिक क्षेत्रमा महिलाहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले आर्थिक समृद्धिको आधारशिला महिला भएकाले उनीलाई थप प्रोत्साहन गर्ने कार्यमा सहकारीले देखाएको सक्रियता अत्यन्त प्रशंसनिय रहेको धारणा व्यक्त गरे ।

महिला अधिकारकर्मी रमा पन्तले सहकारीमार्फत महिलालाई सम्मान गरेर जिल्लामै नौलो अभ्यासको सुरुवात गरेको भन्दै सहकारीलाई धन्यवाद दिईन् । कार्यक्रममा शिक्षक संगठन पाल्पाका निवर्तमान अध्यक्ष राम प्रसाद ढकाल,शाखा प्रमुख मथुरा पराजुली,ब्यवस्थापक कृष्ण कार्की,विभिन्न उपसमितिका संयोजक लगायत सहकारी अभियन्ताहरुले आ–आफ्ना धारणा राखेका थिए । सहकारीका अध्यक्ष सुरेश ढकालले महिलाहरुको सक्रियताले सहकारी संस्था स्थापनाको छोटो समयमा जिल्लामै सफल हुन सकेको भन्दै आगामी दिनमा नेपालकै नमुना सहकारी संस्था बनाउने दिशामा आफुहरु लागेको बताए । कमला शर्माको अध्यक्षता ,अम्बिका तिमल्सिनाको स्वागत र सुमित्रा केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update