Shittalpati
गुल्मीमा चौथो गुल्मी महोत्सव सञ्चालन हुने

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ सञ्चालन हुने भएको छ । आउँदो चैत २५ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौ गुल्मी महोत्सव हुन लागेके उद्योगा वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा चौथो गुल्मी महोत्सव तथा औद्योगिक एवं ब्यापार मेला–२०७८ हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

गुल्मीको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका–८, चिदीचौरमा संचालन हुने महोत्सवको आयोजक गुल्मी उद्योग वाणिज्य संघ रहेको छ । जसको सह–आयोजकमाः नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश रहेका छन् ।

महोत्सवमा हुने नाफाको ४० प्रतिशत रकम गुल्मीको पर्यटक क्षेत्रमा खर्च गरिने छ । महोत्सवमा दैनिक ९ हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पर्यटकको लागि ६० रुपैयाँ टिकटमा प्रवेश दिइने छ । विद्यार्थीको लागि ४० रुपैयाँ मात्र तोकिएको छ ।

कोरोनाका कारण थलिएको आर्थिक अवस्थाले गर्दा ब्यापारमा कारोबारको समष्टिगत अपेक्षा गरिएको छैन । कारोबार थोरै वा धेरै हुने हुने महोत्सव अगाडि भन्न नसकिने संघले जनाएको छ । महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति रहने छ । गुल्मीको सदरमुकाम तम्घास चिदिचौर खेलमैदानमा हुने महोत्सवमा कृषि प्रदर्शनी, ब्यापार, ब्यापरिक स्टल लगायतका स्थानीय तहलाई चिनाउने वस्तुहरु आकर्षकका रुपमा राखिने छ ।

गुल्मी जिल्लामा अवसरको कमीले गर्दा लुकेर रहेका सम्पदा, कला, संस्कृतिलाई उजागर गरी प्रवर्धन गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार एवं बिक्री वितरण गर्ने, उत्पादन वृद्धि गर्नको लागि प्रोत्साहित गर्ने र स्वरोजगारको वृद्धि गर्ने, उपभोक्ताको चाहना बुझी स्थानीय उत्पादन प्रयोगमा वृद्धि गरी राष्ट्रिय आयमा वृद्धि गर्ने, अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनको परिचय गराई निर्यात व्यापार वृद्धि गर्ने, आन्तरिक एवं बाह्य पर्यटकहरूलाई परिचय गराई ग्रामीण पर्यटनको प्रवर्धन गर्दै ग्रामीण जनताको आय आर्जनमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पुर्‍याउने, गुल्मी जिल्लाका घरेलु, हस्तकला उद्यमीहरूका उत्पादनहरूको बजारीकरणमा सहयोग गर्ने, गुल्मी जिल्लाका कला, संस्कृति, भेषभूषा र प्रतिभाहरूको पहिचान गरी सोको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने र एकै थलोमा नगरपालिकाका तथा जिल्लाका ९३ वटै वडाकाका आ–आफ्ना पहिचानहरुको प्रदर्शन गर्ने लगायतका उद्देश्यले चौथो गुल्मी महोत्सव गर्न लागिएको संघले जनाएको छ ।

उद्योग वाणिज्य संघले गर्दै आएको महोत्सवबाट भएको नाफा सामाजिक कार्यमा लगानी गरिन्छ । प्रथम गुल्मी महोत्सब बाट गुल्मी जिल्लाको प्रवेशद्धार एवं धार्मिक स्थल रिडि क्षेत्रको लागि ४० हजार, जिल्लाको ऐतिहासिक धार्मिक तपोवन रेसुङ्गालाई ४० हजार, धुर्कोटमा रहेको विचित्र गुफालाई ४० हजार, कुर्घाको मालिका मन्दिरलाई ४० हजार, पुर्कोटको कङ्के देउरालीलाई २० हजार, तम्घास फोहोर मैला सरसफाई समितिलाई १ लाख र महेन्द्र माध्यमिक विद्यालयकोे प्राङ्गगडमा १ लाख ५० हजार लगानी गरिएको थियो ।

दोस्रो गुल्मी महोत्सबबाट रेसुङ्गा पोखरी क्षेत्रमा गुल्मी उद्योग वाणिज्य संघ र रुरु रेसुङ्गा क्षेत्र संरक्षण समिति संगको सहकार्यमा ५ लाख बरावरको लागतमा २२ धारा निर्माण, संघका शाखा कार्यालय मार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि शाखा कार्यालय बलेटक्सार, रिडी र वामी शाखालाई एक एक लाख सहयोग, गुल्मी जिल्लामा अत्यावश्यक रुपमा रहेको रक्त संञ्चार केन्द्र स्थापनाका लागी नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई १ लाख ५० हजार, बौद्धिक अपाङ्ग केन्द्र गुल्मीको भवन निर्माणको लागि ५० हजार सहयोग प्रदान गरिएको थियो । त्यस्तै तम्घासस्थान मन्दिरमा कुर्ची, रेसुङ्गा धर्मशालामा कुर्ची तथा पानीमोटर गरी ४० हजार, महेन्द्र माध्यिमक विद्यालयमा सोलार जडानको लागी ५० हजार आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

तेस्रो गुल्मी महोत्सबबाट महेन्द्र माध्यमिक विद्यालयलको ग्राउण्ड निर्माणको लागि २ लाख, रेसुङ्गा पोखरी क्षेत्र देखी यज्ञशाला सम्म रेसुङ्गा धाममा आउने तिर्थालु भक्तजनहरुलाई आवत जावत गर्न सहज होस् भन्ने हेतुल रेलिङ्ग सहितको सिढि निर्माण कार्य, अक्सीजन प्लान्ट भवन निर्माण गरी २०७८ पौष मसान्तमा गुल्मी जिल्ला अस्पताललाई हस्तान्तरण लगातयतका काम गरिएको थियो ।

चौथो गुल्मी महोत्सवका अवसरमा तयार गरिने ब्रोसरहरू, पम्पलेट, लिफलेटहरूमा प्रायोजक तथा साझेदारहरुको नाम लेखिने उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक तारा भुसालले जानकारी दिए । उनका अनुसार उक्त ब्रोसर तथा पम्पलेटहरु सरकारी कार्यालय, गैरसरकारी संघ–संस्था तथा नेपाल राष्ट्रभरका उद्योग वाणिज्य संघ र व्यापार उद्योग प्रवर्धन गर्ने संस्थाहरूमा पठाइनेछ ।

गुल्मी महोत्सवका लागि प्रायोजनका लागि मुख्य प्रायोजक, सह–प्रायोजक र अन्य गरेर राखिएको छ । अन्यमा बाल उद्यान, सांस्कृतिक कार्यक्रम, मुख्य प्रवेशद्वार निर्माण , टिकट छपाइ र प्रसार सामाग्रीहरू (वेव साइट, ब्रोसर, पम्पलेट आदि) भनेर राखिएको छ । मुख्य प्रायोजकका लागि ५ लाख, प्रायोजकका लागि २ लाख, सह–प्रायोजकका लागि १ लाख, सहयोगी संस्थाका लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

स्टलको विवरणमा कपडा तथा अन्यका लागि २५ हजार प्रति स्टल, फाष्टफुडका लागि ३५ हजार प्रति स्टल तोकिएको उद्योग वाणिज्य संघका महासचिव ईश्वरी प्रसाद बेल्वासेले जानकारी दिए । महोत्सवमा कृषि प्रदर्शनी स्टल निःशुल्क, घरेलु उत्पादन प्रदर्शनी निःशुल्क र स्थानिय पुस्तक तथा पत्रिका प्रदर्शनी निःशुल्क रुपमा राख्न दिइने छ । महोत्सव संचालनका लागि मूल समिति र विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारिएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update