Shittalpati
कुप कार्ड सम्बन्धी ग्लोबल आइएमईको त्रिपक्षीय सम्झौता

पाल्पा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सहकारी पहिचान सहितको कुप कार्ड (एटीएम) जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । एससिटीसँगको सहकार्यमा बैंकले छिट्टै सदस्य सहकारी संघ–संस्था मार्फत सहकारीमा आवद्ध सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने गरी त्रिपक्षीय सम्झौता गरेको हो ।

ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागेको हो । ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले बुप कार्ड जारी गर्ने बताइएको छ । यसका लागि एससिटीले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ । सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको बताइएको छ । यस सुविधाले सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update