Shittalpati
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पाँच रुपैयाँले वृद्वि

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ५० रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ । निगमका अनुसार ५/५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ रूपैयाँ २८ पैसा, डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा रहेको छ । तर मट्टितेलमा भने १९ रूपैयाँ ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढाए पनि सरकारले इन्धनमा लगाएको अनावश्यक कर घटाएर राहत दिन भने कुनै चासो दिएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९.४८ रुपैयाँ र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ कर लाग्छ । त्यस्तै ८८.८३ रुपैयाँमा किनिएको मट्टितेलमा १३.३६ रुपैयाँ र १६४१.२३ रुपैयाँमा खरिद गरेको ग्यासमा २८०.३० रुपैयाँ कर लाग्ने गरेको छ ।

त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च/मुनाफा सहित जोडेर विक्री मूल्य तय हुन्छ । पछिल्लो समय लगातार इन्धनको मूल्य बढेपनि निगमले घाटामा गएको बताउँदै आएको छ । चालु आर्थिक वर्षको १५ फागुनसम्म २८ अर्ब नोक्सान भएको निगमको भनाइ छ । मूल्य समायोजन गर्दा पनि मासिकरुपमा ६ अर्ब घाटामा रहेकाले आइओसीलाई रकम भुक्तानी गर्न कठिन भएको निगमको भनाइ छ । निगमले प्रत्येक महिना आईओसीलाई तेल खरिद गरेवापत रकम भुक्तानी गर्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update