Shittalpati
कोरोनाको बहानामा कालोबजारी नगरौं

रुपन्देही । कोरोना महामारीको बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघसंस्थाहरुले सघाउने प्रतिवद्धतासमेत जनाएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश पाँचले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरोकारवालाहरुले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्नुपर्नेमा जोड दिए । बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावश्यक स्टक राखेर अभाव सिर्जना गर्न नहुने भन्दै उनले कृषिजन्य वस्तुमा समस्या नरहेको बताए ।

सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उनको भनाई थियो । साक्षात्कारमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताए । ‘सरकारले बजारलाई प्रभावकारीरुपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नु पर्छ’, उनले भने । रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनुपर्ने बताए । उनले एक्कासी मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरे । रासस

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update