Shittalpati
राष्ट्र बैंकद्वारा कर्जामा कडाइ

पाल्पा, नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, गाडी कर्जा, घरजग्गा तथा सेयर धितो कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाइ गरेको हो । निर्देशिकाअनुसार व्यक्तिगत ओभरड्राफ्ट कर्जा दिनको लागि बैंकहरुले १५० प्रतिशत जोखिम भार राख्नुपर्ने भएको छ भने व्यक्तिगत अटो लोन, घरजग्गा खरिद तथा विकास कर्जा र मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पनि १५० प्रतिशत जोखिभार कायम गर्नुपर्नेछ । नयाँ व्यवस्था आगामी असार मसान्तदेखि लागू हुनेछ । आयातका लागि लिइने ट्रस्ट रिसिटदेखि सेयर धितो, गाडी, रियल स्टेटलगायत ऋणमा जोखिम भार बढाएर राष्ट्र बैंकले ‘अनुत्पादक’ कर्जालाई निरुत्साहित गर्न खोजेको छ ।

अनुत्पादक जग्गामा धेरै कर्जा गएका कारण राष्ट्र बैंकले कम्पनीले प्लटिङ गर्नका लागि लिएको कर्जाको जोखिम भार सय प्रतिशत रहेकोमा यसलाई बढाएर १५० प्रतिशत पुर्‍याएको छ । यसैगरी मार्जिन प्रकृतिको कर्जा (सेयर धितोमा लिइने कर्जा) मा हाल १०० प्रतिशत जोखिम भार रहेकोमा बढाएर १५० प्रतिशत पुर्‍याइएको छ । योसँगै राष्ट्र बैंकले एउटा बैंकको संस्थापक सेयर भएका व्यक्तिले अरू संस्थाको सेयर खरिद/बिक्री गर्नुपूर्व नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने निर्देशन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर कारोबारमा कडाइ गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । यसअघि कुनै संस्थाको कुल पुँजीको दुई प्रतिशत सेयर भएकाले मात्र स्वीकृत लिनुपर्ने व्यवस्था थियो । कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद/बिक्री गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update