Shittalpati
‘सुजुकी सेलेरियो’ सार्वजनिक

पाल्पा, नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटो मोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी सेलेरियो’ नामक कार सार्वजनिक गरेको छ । कम्पनीले नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।

आकर्षक डिजाइन, उच्च क्षमता तथा शक्तिशाली इन्जिन मारुती सुजुकी कारका विशेषता हुन् । स्टाइलिस र मोर्डन डिजाइनको हुने भएकाले यो कार परिवारको रोजाइमा पर्ने गर्छ । मोटोकर्प कम्पनीले प्यासेन्जर कारको नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा ल्याएको छ । यस कारलाई कम्पनीले ‘द पर्फेक्ट फेमिली कार’ का रूपमा लिएको छ । सेलेरियो फेसलिफ्टको डिजाइन सेलेरियोको पुरानो मोडलको जस्तै छ । यसको ग्राफिक्स तथा आउट–लुक्समा केही परिमार्जन गरिएको छ । यसको डिजाइनमा प्रयोग गरिएको ग्राफिक्सले पारिवारिक कारको अनुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ । कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कार पुरानाको तुलनामा आकर्षक देखिएको छ । डिजाइन सुहाउँदो फग ल्याम्प हेडलाइट राखिएको छ । परिवारका सदस्यका लागि भनेर तयार गरिएकाले यसको लुक्स भड्किलो बनाइएको छैन । कारको लुक्स स्याट्यान्डर्ड छ । नयाँ कार बाहिरबाट हेर्दामात्र ट्रेण्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएको छ ।

परिवारलाई अनुकूल हुने गरी कारको इन्टेरियर डिजाइन गरिएको छ । कम्प्याक्ट सेग्मेन्टको कार भए पनि यसको साइजलाई नबढाई भित्री भाग फराकिलो बनाइएको छ । सानादेखि वृद्धवृद्धासम्मलाई हुने गरी कारको सिट डिजाइन गरिएको छ । कारमा पाँच सिट छन् । चालकको सुविधाका लागि अघिल्लो सिट बकेट टाइपको छ । यस्तो सिटमा चालकको सम्पूर्ण ढाडले आराम पाउँछ । चालकले बिनाझन्झट आरामदायी रूपमा गाडी चलाउन सक्छन् । पछिल्लो भागमा बस्नेका लागि हेड रेस्टको पनि व्यवस्था छ । साथै, थाइ सर्पोट पनि उत्कृष्ट छ । कम्प्याक्ट सेग्मेटको अधिकतम कारमा थाइ सर्पोटका लागि पर्याप्त ठाउँ हुँदैन । यसको थाइ सर्पोट प्रिमियम गाडीको जस्तै उच्चस्तरीय छ । लामो यात्रामा निस्किँदा पाछिल्लो भागमा बस्नेले पनि पूर्ण आराम पाउँछन् । यसमा प्रिमियम कारमा प्रयोग हुने फ्याबरिक्सको सिट छ । टपनक डिजाइनको कुसनले यात्रालाई झनै आरामदायी बनाउनेछ ।

पेट्रोलबाट चल्ने कारमा के १० बी इन्जिन छ । यो इन्जिनले पावर र माइलेजलाई सन्तुलन राख्छ । अन्य इन्जिन जडान भएको कारमा यस्तो दोहोरो सुविधा प्राप्त हँुदैन । तीन सिलिन्डर भएको इन्जिनले ६७ बीपीएचमा ६ हजार आरपीएम पावर तथा ९० एनएममा ३ हजार ५ सय आरपीएम टर्क उत्पादन गर्छ । कारले ० देखि १०० को उच्चतम गतिमा पुग्न १५ सेकेन्डको समय लिन्छ । प्रतिलिटर २३.१ किलोमिटर माइलेज दिने यो कारमा ३५ लिटरसम्म इन्धन राख्न सकिन्छ । कारमा पाँच म्यानुअल गियर छ ।

कम्प्याक्ट सेग्मेन्टको यस कारको उचाई १५६० एमएमको छ । यसको लम्बाइ ३६९५ एमएम र चौडाइ १६०० एमएमको छ । २४२५ एमएम Þवीलबेसमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स छ । फ्रन्ट ट्रयाक १४२० एमएम र रियर ट्रयाक १४१० एमएमको छ । कार मोड्न ४.७ मिटरको क्षेत्रफल उपभोग गर्छ । कारको कूल तौल १२५० किलो छ । कारमा आवश्यक सामग्री राख्न २३५ लिटरको बुट स्पेस छ ।

पर्फमेन्स र पावरका दृष्टिले जोडदार मानिएको यस कारमा एन्टी ब्रेकिङ सिस्टम (एबीएस) पनि छ । यस्तो ब्रेकले राजमार्गमा कार चलाउँदा उच्च गतिमा भए पनि ठाउँको ठाउँ रोक्नेछ । यसको अघिल्लो पांग्रामा भेन्टीलेटड डिक्स र पछिल्लो पांग्रामा ड्रम ब्रेक छ । यसमा प्रयोग भएका टायरले उच्चतम गतिमा कारमा आकस्मिक ब्रेक लगाउँदा पनि चिप्लिनबाट जोगाउँछ । यसको अघिल्लो टायर १६५/७० आर १४ र पछिल्लो टायर १६५/७० आर १४ को छ । कारमा ट्यूबलेस अलो ह्वील छ ।

कारमा सुरक्षा र आरामलाई विशेष ध्यान दिइएको छ । गाडी दुर्घटनाबाट हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न ड्यूल फ्रन्ट एयर ब्याग राखिएको छ । गाडी चोरी रोक्न सेक्युरिटी अलार्म सिस्टम जडान गरिएको छ । सिट बेल्ट सेन्सर फोर्स सिस्टमको छ । साथै साना बच्चाको सुरक्षाका निम्ति कारमा चाइल्ड सेफ्टी फिचर पनि छ । यसले उभरखावड सडक तथा आकस्मिक ब्रेक लगाउँदा बच्चालाई सुरक्षित राख्छ । यो गाडी चलेको पाँच सेकेन्ड वा २० किलोमिटर प्रतिघण्टाको रफतारमा गुड्दा ढोका स्वतः बन्द हुन्छ । ढोका बन्द गर्न बिर्सिएर हुन सक्ने मानवीय दुर्घटना यसले रोक्छ । कारमा सवारलाई सिटबेल्ट लगाउन गाडीले सूचना दिन्छ । कारले गाडीमा सवार गर्नेका लागि मात्र नभएर पैदल यात्रुको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको छ । पैदल यात्रीबाट सुरक्षाका लागि गाडीमा पेडेस्ट्रीयन प्रोटेक्सन कम्प्लाइन्स पनि दिइएको छ । यसले पैदल यात्रुसँग ठोक्किँदा हुने असरलाई न्युनीकरण गर्छ । कारको बम्पर र हुडमा प्रयोग भएको सामाग्री एनक्याप स्ट्यान्डर्डको छ । यसमा प्रयोग भएको प्रविधिले न्यूटन थर्ड ल अफ मोसनको सिद्धान्तलाई चुनौती दिएको छ । रात र दिनको उज्यालोअनुरूप गाडीभित्रको प्रकाश मिलाउन सकिन्छ । कारको पछिल्लो भागमा पनि वाइपर छ ।

रिमोटको माध्यमबाट कार स्टार्ट गर्न सकिन्छ । यसका लागि कि लेस इन्ट्री प्रविधि छ । कारमा एअर कन्डिसन र हिटर दुवै छ । चालकले आफूअनुकूल स्टेरिङ र सिटको उचाई घटाउन बढाउन सक्छन् । यसमा मारुतीको स्ट्यान्डर्ड म्यूजिक सिस्टम छ । इलेक्ट्रिकल एडजस्टएवल भ्यू मिरर (पछाडि) छ । चालकले रिमोर्टको सहायताले ओभरटेक गर्न लागेको गाडीको जानकारी पाउँछ ।
तीन प्रकारका सेलेरियो नेपाली बजारमा उपलब्ध छ । भीएक्स आइ, जेटएक्सआइ ओ र सेलेरियो एक्स स्पोर्टी नाममा सेलेरियो उपलब्ध छ । कम्पनीले यसको सुरुवाती मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । सुरक्षा र मूल्यका हिसाबले नयाँ गाडी खरिद गर्न चाहनेका लागि यो उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ । सुजुकीका कुनै पनि नयाँ गाडी खरिद गर्ने ग्राहकले दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र इन्जिनमा चार वर्षसम्मको वारेन्टी पाउँछन् । सुजुकीले ग्राहकको गाडीमा आउने समस्या समाधान गर्न मुलुकभर २३ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले तीन सय ६५ दिन नै एक्सचेन्ज सुविधा दिने र वर्षको तीनपटक मेला आयोजना गरिरहेको छ । साथै, अन्य कम्पनीका गाडी पनि सुजुकीका गाडीसँग एक्सचेन्ज गर्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update