Shittalpati
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं,  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आहन पत्रमा उल्लेख छ । सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् र यो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन ६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी २५ करोड र हालको जारी पूँजी १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी १० करोड ७८ लाख छ । विवरण पत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी १६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ । -रासस

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update