Shittalpati
त्रास फैलाएर कालोबजारी

देशभरमा कोरोना संक्रमणको त्रास फैलिरहेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न लागेका छन् । कोरोना संक्रमणको त्रास फैलाएर उपभोक्तालाई एकैपटक खाद्यवस्तु किन्न लगाउने र मृल्यवृद्धि गर्ने काम गरिएको छ । कोरोना भाइरसको त्रास फैलाएर बजारमा सहज आपूर्ति भइरहेका वस्तुको कालोबजारी हुन थालेको देखिन्छ । यो शृंखला दिनहुँ बढ्दो छ । आपूर्तिमा सामान्यतया अवरोध छैन । भारतले सीमा नाकाहरु एक महिनाका लागि बन्द गर्ने समाचार बाहिर आएसँगै बजारमा उपभोग्य वस्तुहरुको कृत्रिम अभाव हुन थालेको छ । व्यापारीले यसरी मनपर्दी गर्दा सरकारका सरोकारवाला निकायले कडा कारबाही गर्न सकेका छैनन् । विषम परिस्थितीमा सरकारका सम्बन्धित निकाय संवेदनशील भएर नागरिकलाई सहज रुपमा उपभोग्य वस्तुहरु प्राप्त गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु अमानवियताको पराकाष्ट हो । भारतले कोरोना भाइरसका कारण सीमा नाकाहरु बन्द गर्ने जनाएसँगै पेट्रोलियम पदार्थको संकट हुने हल्लाले पाल्पाका उपभोक्ताहरु बिहीबार रातिदेखि नै पेट्रोलपम्पमा लाईन बसेर तेल भरिरहेका छन् । कोरोनाकै हल्ला फैलाउँदै पाल्पा केही व्यवसायीहरुले समेत दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी गर्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् । बजार भाउँ बढाएको, कृतिम अभाव गरेको भन्दै उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन र कारवाही गर्न समेत माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयले कालोबजारी गर्ने माथि कडा कारबाही गर्ने बताए पनि व्यावहारिक रूपमा भने कारवाही गर्न सकेको छैन । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले पनि कालोबजारी रोकथाम गर्न आवश्यक पहल गर्नुपर्छ । अहिले देशका अन्य सहरी क्षेत्रमा माक्सको अभाव हुन थालेको छ । कोरोना भाइरसको संक्रमणको हल्ला यसरी फैलाइएको छ कि यसले सबै क्षेत्रलाई गाँजेको जस्तो भ्रम समेत फैलाइएको छ । वास्तवमा त्यस प्रकारको भ्रम फैलाउनु गलत हो । हामीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सर्तकता अपनाउनुपर्छ । त्यसो भन्दैमा कोरोना भाइरसको संक्रमण फैलिएको जसरी नै तर्सनु र चिन्ता मान्नुपर्ने अवस्था भने किमार्थ छैन । यसर्थ कृत्रिम हाहाकार र कालोबजारी सिर्जना गर्ने जो कोहलाई पनि कानुनी कारवाही गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update