Shittalpati
गुल्मीमा २ सय ८९ जनामा एचआईभी संक्रमण

रमेश विश्वकर्मा
गुल्मी । पछिल्लो समय जिल्लामा २ सय ८९ जनामा एचआईभी संक्रमण रहेको पाइएको छ । हाम्रो जीवन प्लस गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा २ सय ८९ जनामा एचआईभी संक्रमण रहेको जनाइएको हो । जसमध्ये सत्यवती गाउँपालिकामा ५२ जना, रुरुक्षेत्र गाउँपालिकामा ३५ जना, छत्रकोट गाउँपालिकामा २८ जना, गुल्मीदरबार गाउँपालिकामा १६ जना, संक्रमित रहेका छन् । ईस्मा गाउँपालिकामा १८ जना, धुर्कोट गाउँपालिकामा २२ जना, मालिका गाउँपालिकामा १५ जना, मदानेमा १३ जना, कालीगण्डकीमा चार जना, चन्द्रकोटमा २० जना, रेसुङ्गा नगरपालिकामा २८ जना र मुसिकोट नगरपालिकामा ३८ जना एचआईभी संक्रमित रहेको हाम्रो जीवन प्लस, गुल्मीले जनाएको छ ।

संस्थाले संक्रमितहरुलाई विभिन्न समयमा पोशाक वितरण, भेला आयोजना, जनचेतना, तालिम जस्ता कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् । संस्थाले सदरमुकाम तम्घासमा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका एचआईभी संक्रमितहरुले आफूहरु प्रति समाजका मानिसहरुले नकारात्मक धारणा बनाउने गरेकाले एचआईभी संक्रमितहरु समाजमा स्थापना हुन असहज भइरहेको उनीहरुले बताएका छन् । भेलामा सहभागीहरुले संक्रमितहरुको निःशुल्क स्वास्थ्य बीमा हुनुपर्ने, जीवन बीमा हुनुपर्ने, उपचारमा सहुलियत हुनुपर्ने जस्ता विषयवस्तुहरु माग गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update