Shittalpati
लायन्स क्लवद्वारा पाल्पा अस्पतालमा स्वास्थ्य सामग्री

पाल्पा । जिल्लामा सामाजिक सेवामा समर्पित संस्था लायन्स क्लव अफ श्रीनगरले पाल्पा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले इटालियन सामाजिक संस्थाबाट प्राप्त सहयोग,लायन्स क्लव अफ काठमाडौं सामाखुसीको समन्वयमा शुक्रबार एक कार्यक्रमका बीच अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

क्लवले जिल्लामा नवजात शिशुहरुको मृत्युदर कम गर्न आवश्यक हार्मर, अप्टिमा सलुशन,फोटो थेरापी, न्यू वन रिससीटेशन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रीक ३२५ विटु नेपालका पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, विशिष्ट अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही, क्लवका अध्यक्ष नारायण बहादुर कार्कीले संयुक्त रुपमा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा डिष्ट्रीक ३२५ विटु नेपालका पूर्व गर्भनर श्रेष्ठले जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत क्लवले स्वास्थ्य उपकरणहरु सहयोग गरेको जानकारी दिए । पूर्व गर्भनर श्रेष्ठले लायन्स क्लवको उद्देश्य निःस्वार्थ सेवा गर्नु रहेकाले देशैभर स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा क्लवले सहयोग गर्दै आएको बताए । उनले आगामी दिनहरुमा पनि लायन्स क्लवहरुले स्थानीय सरकारहरुको सहकार्यमा सामाजिक कार्य गर्दै जाने बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख शाहीले गुणस्तरी स्वास्थ्य सेवामा लायन्स क्लवले देखाएको सहयोग र सद्भावको प्रसंसा गरे । उनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल भएकाले निजी संस्थाहरुसँग स्थानीय सरकारले पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए । अस्पतालका अध्यक्ष पाण्डेले क्लवले अस्पतालाई गरेको सहयोग प्रति धन्वाद व्यक्त गरे । उनले जिल्ला अस्पताल सबैको साझा भएकाले भरपुर स्वास्थ्य सेवा लिन सबैलाई आग्रह गरे । अध्यक्ष पाण्डेले अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरी र जनमैत्री बनाउन आफुहरु क्रियाशिल रहेको बताए । क्लवका अध्यक्ष कार्कीले आफुहरु नि : स्वार्थ रुपमा सामाजिक सेवामा लागेकाले आगामी दिनहरुमा पनि अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालका सुपरिटेण्डन डा.पुष्पराज ज्ञवालीले आवश्यक उपकरण नुहँदा नवजात शिशुहरुको उपचारमा समस्या उत्पन्न भइरहेकाले क्लवबाट प्राप्त उपकरणहरुले समस्या समधानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका डा. जगदीश कुंवरले उक्त स्वास्थ्य सामग्रीको उपयोगिताका विषयमा जानकारी गराएका थिए । उनले २८ दिन भन्दा मुनिका नवजात शिशुहरुको मृत्युदर अत्याधिक रहेकाले त्यसलाई रोक्न प्राप्त सामग्रीले सहयोग गर्ने बताए । शिशुहरु जन्मेदेखि २८ दिनसम्मको अवस्था अत्यन्तै जोखिमयुक्त समय भएकाले त्यस्तो अवस्थाको अन्त्यका लागि हार्मर, अप्टिमा सलुशन, फोटो थेरापी, न्यू वन रिससीटेशन लगायतका स्वास्थ्य सामग्री बहुउपयोगी रहने अस्पतालकी नर्सिङ्ग इञ्चार्ज लक्ष्मी कार्की, जिसीले बताईन् । सोही अवसरमा सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक रामलाल श्रेष्ठले अस्पताललाई व्यक्तिगत रुपमा स्वास्थ्य समाग्री समेत सहयोग गरेका थिए । कार्यक्रममा डिष्ट्रीक ३२५ विटु नेपालका पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठले तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही, अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डे र रामलाल श्रेष्ठलाई क्लवको सदस्ताको स्टिकर वितरण गरेका थिए । कार्यक्रम क्लवका तृत्तिय उपाध्यक्ष अशेष भट्टाराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update