Shittalpati
तानसेन नगर सरकारद्वारा शिक्षकलाई प्रोत्साहन भत्ता

पाल्पा, तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताए । यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक छ हजार ५ सय रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर स–साना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो । नगरपालिकाले ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक १ सय १८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक एक करोड १८ लाख बराबर खर्च भएको थियो । –रासस

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update