Shittalpati
तानसेन सहकारीले गर्‍यो ८ करोड ९२ लाखको कारोबार

कृष्ण पोखरेल
पाल्पा, जिल्लामा क्रियाशिल रहेको तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाले ८ करोड ९२ लाख बराबरको कारोबार गरेको छ । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ९२ लाख ७ हजार १ सय ८८ बराबरको करोबार गरेको हो । उसले १३ आंै वार्षिक साधारण सभा मनाउँदै उक्त कारोबार गर्न सफल भएको जनाएको छ । ९ सय ७३ जना शेयर सदस्य रहेको सहकारीले गत वर्ष १२ करोड ८ लाख ६१ हजार २ सय ९६ ऋण लगानी गरको थियो भने ३ करोड ५५ लाख २५ हजार ५ सय रुपैयाँ ऋण असुली । उक्त आर्थिक वर्षमा सहकारीले १ करोड ३० लाख ३१ हजार २ सय ५८ रुपैयाँ आम्दानी गर्न सफल भएको पाइन्छ भने ११ लाख ३३ हजार ९१ रुपैयाँ शुद्ध नाफा गरेको छ । सहकारीले आव २०७७/०७८ सम्ममा जगेडा कोषमा २४ लाख ७७ हजार २ सय ६५ रुपैयाँ सञ्चित गरेको छ भने अन्य कोषमा ४८ लाख ६२ हजार ५ सय १० सञ्चित गरेको जनाएको छ ।

संस्थाले आउँदो असार मसान्त सम्ममा संस्थागत शेयर बढाएर १ करोड ३ लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ । उसले हाल साविकको १५ वटै वडामा काम गरेकोमा आगामी दिनमा नगरका सबै वडामा काम गर्ने गरी योजना बनाएको छ । संस्थाले विना धितो ५० हजार र धितोको रुपमा शेयर सदस्यहरुलाई १ लाख देखि ३० लाख रुपैयाँसम्म ऋण प्रदान गर्दै आएको जनाएको छ । संस्थाले बचतमा ११ प्रतिशत, ऋण लगानीमा १४ प्रतिशतसम्म ब्याज लिने दिने गरेको जनाएको छ ।

यस वर्ष ११ लाख शुद्ध नाफा कमाएकोमा आगामी वर्ष १६ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य तानसेन सहकारीले लिएको छ । संस्थाले कारोबारलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने, शेयर सदस्यहरुलाई अधिकतम सुविधा प्रदान गर्ने, संस्थामा नाफा वृद्धि गर्ने लगायतका प्रतिवद्धता पदाधिकारीहरुले व्यक्त गरेका छन् । साधारण सभाको संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सांसद् पाण्डेले तानसेन सहकारीले सहकारीको मूल्य मान्यता, सिद्धान्त अनुसार नै संस्थाका गतिविधी गर्दै आएकोमा खुसी व्यक्त गरे । अन्य सहकारी भन्दा फरक शैलीमा शेयर सदस्यहरु बीच नै कारोबार गरेको, सबै शेयर सदस्यहरुको लगानी बराबर रहेको, यस्ता सहकारी वडा–वडामा सञ्चालन हुनुपर्ने पूर्वमन्त्री पाण्डेले बताए । सहकारी भनेकै एक आपसमा सहकार्य गरेर सामूहिक लगानी गरेर आयआर्जन बढाउने, मूल्य तथा बजारलाई व्यवस्थित गरी नियन्त्रण गर्ने, प्रणाली भएको पूर्वमन्त्री पाण्डेले बताए ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार देवीप्रसाद बस्याल, सल्लाहकार धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी लगायतले सहकारीले गरेका कामहरुको चर्चा गर्दै आगामी दिनमा अझै सदस्य केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा तानसेन नगरपालिका सहकारी विभाग प्रमुख दुर्गाबहादुर थापाले सहकारी मापदण्ड अनुसार एक सहकारी एक सदस्य कार्यान्वयन गर्न तानसेन सहकारीलाई सुझाव दिए । कार्यक्रममा संस्थाका अध्यक्ष भेषराज सुवेदीेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनिश्वर बस्यालले आर्थिक प्रतिवेदन, लेखा संयोजक भरतप्रसाद न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । संस्थाका अध्यक्ष भेषराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष युवराज पन्तको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update