Shittalpati
माथागढी रुप्सेका गर्भवती महिलालाई अण्डा उपहार !

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले गर्भवती महिलाहरुलाई अण्डा उपहार दिएको छ । गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा,घरमा हरियो झण्डा कार्यक्रम अन्तर्गत वडा नम्वर २ का १७ जना गर्भवती महिलालाई एक कार्यक्रमका बीच अण्डा उपहार दिएको हो । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण गर्ने अभियान सञ्चालन गरेको छ ।

संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसगै अगाडि बढाएको हो । चार लाख रकम विनियोजन गरी अभियान अगाडि बढाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । गर्भवती महिलामा गर्भ रहेको सामान्यतया :चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको उनले जानकारी दिए ।

गर्भवती महिलाई अण्डा वितरण गर्दै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले गर्भवतीलाई नियमितरुपमा स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउने बानीको विकास गर्न अभियानले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपाध्यक्ष भट्टराईले भनिन्, ‘पौष्टिक आहाराको कमी हुनबाट बचाई आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।’ गाउँपालिकाले गर्भ रहेका महिला स्वास्थ्य संस्थामा आए ३ सय ५० बराबरको अण्डा दिने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य संस्थामा गर्भ जाँचका लागि पुगेका महिलालाई स्वास्थ्यको अवस्था र आवश्यक पौष्टिक आहारका विषयमा जानकारी गराएरमात्रै अण्डा वितरण गर्ने गरिएको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले बताए । गाउँपालिकाले स्वास्थ्यसंस्थामा गएर सुत्केरी भएमा संस्थागत सुत्केरी प्रोत्साहन रकम पनि वितरण गर्दै आएको छ । सोही अवसरमा वडाका २३ जना संस्थागत सुत्केरी महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गरेको थियो । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुलाई २५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिएको हो । कार्यक्रम वडा अध्यक्ष जनक रिजेलको अध्यक्षतामा भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update