Shittalpati
लुम्बिनीमा फुड फेस्टिबल हुँदै

बुटवल, यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा फुड फेस्टिबल हुने भएको छ । होटल एशोसियसन लुम्बिनीले नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।

यस वर्ष दुई दिनसम्म फेस्टिबल हुनेछ । होटल एशोसियसनका अनुसार नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्बर ३१ र नयाँ वर्षका दिन खाना महोत्सव हुने छ । ‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने नारासहित लुम्बिनी फुड फेस्टिबल हुन लागेको हो । एशोसियसनले हरेक वर्ष यो महोत्सव आयोजना गर्दै आए पनि गत कोरोना महामारीका कारण गर्न सकेको थिएन । यस वर्ष आठौं संस्करणको रुपमा महोत्सव आयोजना गर्न लागिएका एशोसियसनका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनी बजार(महिलवार)मा हुने फुड फेस्टिबलमा १ सयका हाराहारीमा विभिन्न स्टल रहने जनाइएको छ । नेपाली स्वाद त्यसमा पनि थारु, नेवार, मगर लगायतका समुदाय र विदेशीमा भारतीय, चाइनिज, थाई, कम्बोडिया जापानका खानाका परीकारहरुका स्टल रहने अध्यक्ष ज्ञवालीले बताए । लुम्बिनी सडक महोत्सवलाई नयाँ वर्षको पूर्वसन्ध्यामा गरिने न्यू इएर इभ लुम्बिनी फुड फेस्टिबलका रुपमा देश विदेशमा एउटा ब्रान्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ ।

‘यसपटक विगतमा भन्दा परिमार्जन गरी फुड फेस्टिबल आयोजना हुनेछ र हामीले सस्कृतिलाई पनि जोड दिएका छौं’ अध्यक्ष ज्ञवालीले भने, ‘बुद्धत्व झल्कने साँस्कृतिक कार्यक्रम पस्कने तयारीमा हामी छौं ।’ आठौ संस्करणको लुम्बिनी फुड फेस्टिबलमा लुम्बिनी मा आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभई सीमावर्ती भारतीय बजारबाट समेत सहभागी हुन आउने छन् ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update