Shittalpati
स्वास्थ्य तथा सरसफाई सम्बन्धी छलफल

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ८ फेकमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी छलफल भएको छ । नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाद्वारा सञ्चालित समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार (सिबिएचएफए) कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा सरसफाई सम्बन्धी सरोकारवालाहरु बीच छलफल भएको हो ।

छलफलमा स्वास्थ रहनका लागि सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । मानव जीवनमा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने भएकाले वातावरण र शारीरिक सरसफाईमा ध्यान दिनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् । कार्यक्रममा कार्यक्रम अधिकृत विनोद भारतीले परियोजनाले एक वर्षमा गरेका गतिविधिहरुको विषयमा जानकारी गराएका थिए । उनले कार्यक्रम मार्फत पछिल्लो समयमा धेरै मानिसहरुमा सरसफाईमा ध्यान दिनुपर्छ भनि चेतना वृद्धि भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि शाखाका सभापति बुद्धिप्रसाद शर्माले परियोजनाले गरेका गतिविधिहरुलाई वडा कार्यालयले निरन्तर अनुगमनसँगै अपनत्वबोध गरेकाले सरसफाई तथा स्वास्थ्यको क्षेत्रमा अत्यन्तै सुधार देखिएको धारणा व्यक्त गरे । उनले वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा बजेट समेत विनियोजन गरी अगाडि बढेको भन्दै धन्यवाद दिए । विशिष्ट अतिथि वडाअध्यक्ष नारायणबहादुर लाम्टा·ेले सरसफाई तथा स्वास्थ्य र प्रकोप व्यवस्थापनमा रेडक्रसको परियोजनाले अत्यन्त महत्वपूर्ण काम गरेको बताए । समुदायको घर–घरमा पुगी सचेतनाका गतिविधिहरु फैलाउनुको साथै सामान्य रोगहरु जस्तै झाडा पखाला, श्वासप्रश्वास सम्बन्धी समस्या, तथा सरुवा रोगहरुमा कमी आएको बताए । शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्कीले क्लष्ट समितिलाई सक्रिय बनाई गतिविधिलाई निरन्तरता दिन सकिने बताएका थिए । कार्यक्रममा ४१ जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो । रेडक्रस उपशाखाका उपसभापति हरिबहादुर कुँवरको अध्यक्षता, वडा सदस्य सुमित्रा हिता·को स्वागत, कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update