Shittalpati
गुल्मीबाट ४५ उजूरी अख्तियारमा

गुल्मी, जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४५ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७७/०७८मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजूरी मध्ये १३ वटा फस्र्योट भएका छन् । अब ३२ वटा उजूरी बाँकी रहेको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । क्षेत्रगत रुपमा स्थानीयतहका १६ वटा, शिक्षातर्फ १३ वटा, खानेपानीका ४ वटा, भौतिक पूर्वाधारका ३ वटा र अन्य ९ वटा भ्रष्टाचारसँग सम्बन्धित मुद्दा रहेको पाण्डेले बताए । उनले भष्ट्रचार उन्मुलनका लागि राजनीतिक शुद्धिकरण, संरचनागत र कानुनी सुधार, प्रभावकारी अनुगमन तथा मूल्याकंन हुनुपर्ने बताए । सुशासनका मापदण्डहरुको पालना पूर्ण रुपमा गरिनुपर्नेमा उनले जोड दिए ।

सार्वजनिक खरिद र ठेक्का व्यवस्थापन, सार्वजनिक पदाधिकारीको आचारसंहिता, पुरस्कार र दण्डको व्यवस्था गरिए भष्टाचार न्यूनिकरण गर्न सकिने पाण्डेको भनाई छ । पाण्डेले भ्रष्टाचार विरुद्धका शशक्त अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे । मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले भ्रष्टाचारको नियन्त्रणका लागि राजनैतिक दलहरु नै मुख्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । राजनीति र राजनेतामा नैतिकता नभएसम्म भ्रष्टाचार रोकिदैनन् बोली र व्यवहार एक समान हुन जरुरी रहेको उनको भनाई छ । रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भ्रष्टाचार क्यान्सरको रुपमा फैलिरहेको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले एकले अर्कालाई आरोप लगाएर मात्र भ्रष्टाचारको अन्त्य गर्न नसकिने बताए । जहाँ अभाव हुन्छ, त्यहाँ भ्रष्टाचार हुन्छ समय, नीति, विधि र कानुन अनुसार चल्न नसक्दा भ्रष्टाचार बढ्ने गरेको मरासिनीको भनाई छ । जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डे तथा जनमोर्चाका हरिलाल न्यौपानले राजनैतिक भागबण्डाबाट गरिने नियुक्ती जस्ता कार्यले पनि भ्रष्टाचार, बढाएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सोंच र संस्कारका कारण पनि भ्रष्टाचार हुने गरेको उल्लेख गरे । –अनिल खत्रीबाट

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update