
सीमा भट्टराई,
पाल्पा, रङ्गैरङ्गहरुको पर्व होली आज पाहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । पाल्पासहित पहाडी जिल्लाहरुमा धुमधामसँग होली अर्थात फागु पूर्णिमा मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । पहाडमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतिक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ । तराईमा भने होली पर्व भोलि मनाइन्छ ।
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात् होली धुमधामका साथ मनाउने प्रचलन रहेको छ । रंगको यस पर्वमा युवा युवतीदेखि सबै उमेर समूहका व्यक्ति सहभागी हुने गर्छन् । हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् । राम्रो तरिकाले तयार पारिएका रङ र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ । केहि वर्ष यता होली पर्व देशका विभिन्न गाउँ–गाउँमा पनि मनाउन थालिएको छ । यता पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा पनि धुमधामका साथ होली पर्व मनाइदैछ । तानसेनको बसपार्क, पेटोलपम्प, बतासेडाँडा, प्रभास, हार्थोक, त्यस्तै रामपुरका विभिन्न क्षेत्र र गण्डकी बेसी क्षेत्रका विभिन्न स्थानमा आज विभिन्न कार्यक्रम गर्दै होली खेलिदै छ ।तराईमा मिथिलाको पौराणिक एवं ऐतिहासिक मध्यमा परिक्रमा सम्पन्न भएको भालिपल्टहोली मनाईने चलन रहेको छ ।
भीडमा गएर होली नखेल्न डाक्टरहरुको सुझाव :यस वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भिडभाड भएको स्थानमा गएर होली नखेल्न डाक्टरहरुले सुझाव दिएका छन् । नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले जथाभावी भीडभाड भएका स्थानहरुमा गएर होली नखेल्न डाक्टरहरुले सुझाव दिएका हुन् ।