Shittalpati
वाणिज्य बैंकहरुको निक्षेप घट्यो

पाल्पा, पछिल्लो समय नेपालमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको हो ।

असोज मसान्तसम्म बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब थियो । निक्षेपमा कमी आइरहँदा पनि कर्जा प्रवाह भने बढेको तथ्यांक छ । कार्तिक महिनामा कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा पछिल्लो महिना बैंकहरूमा निक्षेप निरन्तर घटिरहे पनि कर्जा प्रवाह भने यसको ठिक विपरीत अर्थात् बढिरहेको छ । कात्तिक महिनाभर वाणिज्य बैंकहरूले कूल ३५ अर्ब ३१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका हुन् । यो महिनामा सबै वाणिज्य बैंकमा कूल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप जम्मा भएको हो । यसैगरी, ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ कर्जा माग भएको छ । नेपाल बैंकर्स एशोसिएशनले उपलब्ध गराएको तथ्यांक अनुसार २७ मध्ये आठवटा वाणिज्य बैंकमा मात्र निक्षेप बढेको छ । यसैगरी, सातवटा वाणिज्य बैंकमा मात्र कर्जा माग अघिल्लो महिनाको तुलनामा घटेको छ । बाँकी बैंकहरूमा भने कर्जा माग बढ्दो छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले तीन खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । तर, निक्षेप भने ३२ अर्ब रुपैयाँमात्र थपिएको छ । निक्षेप संकलन तुलनामा वाणिज्य बैंकहरूले ९.७८ गुणा बढी कर्जा प्रवाह गरेका हुन् । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनदेखि नै बैंक तथा वित्तीय संस्थाहरूले तरलता संकट भोगिरहेका छन् । सो महिना नै बैंकहरूको निक्षेप ७८ अर्ब रुपैयाँ घटेको हो । भदौ महिनामा ४८ अर्ब र असोज महिनामा ९८ अर्ब रुपैयाँ निक्षेप थपिए पनि कात्तिक महिनामा निक्षेप ३६ अर्ब रुपैयाँ घटेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update