Shittalpati
इन्धनको मूल्य फेरी बढ्यो

पाल्पा, नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

भाउ बढेसँगै पेट्रोलको मूल्य लिटरको १ सय ३६ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ पुगेको छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोक्ताले १ हजार ५ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

ग्यास र इन्धनको भाउ बढ्दा गरिबको भान्सामा प्रत्यक्ष प्रभाव पार्छ भन्ने जान्दाजान्दै सरकारले यसको विकल्प नखोजेको अर्थविद्हरु बताउँछन् । उनीहरुले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा सर्वसाधारणलाई सास्ती हुने बताउँदै आएका छन् । सरकारले इन्धनमा अत्यधिक कर उठाउने गरेको छ । जसकारण इन्धन र ग्यासमा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । तर, त्यसरी उठाइने राजस्वको सदुपयोग नभएको पाइन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य निरन्तर बढिरहेकाले कात्तिक ३० पछि पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update