Shittalpati
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी

जगदीश भट्टराई
पाल्पा, मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ । पाल्पाका केही सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को नै मारेका छन् । उनीहरुले सदस्यको मागका आधारमा बैंकले जस्तै सेवा दिएका छन् । जिल्लाका केही सहकारीहरु मध्ये बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय सेवामा फड्को नै मारेको हो ।

सहकारी भन्नासाथ सानो पुँजी, थोरै लगानी, न्यून सदस्य, एक ठाउँबाट मात्र सेवा दिन्छन् भन्ने परम्परागत सोंचाइलाई तोड्दै यस सहकारी वित्तीय कारोबारमा जिल्लामै अब्बल बन्दै गएको छ । ऋण लगानी, वित्तीय पहुँचमा वृद्धि, ग्रामीण महिलाको क्षमता वृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानीलगायतका वित्तीय कारोबारमा सहकारी अब्बल बन्दै गएको हो । २०५४ सालमा बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यो सहकारी संस्था विभिन्न समयमा अन्य साना सहकारीहरुसँंग मर्ज हुँदै २०७६ सालमा बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा स्थापित भएको हो । १ हजार ३ सय भन्दा धेरै शेयर सदस्यहरुको १ करोड शेयर भएको यो सहकारीको अहिले ८ करोड निक्षेप रहेको छ ।

यस सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई जोड दिदैं समुदायमा देखा परेका अनेकन समस्याहरुको समाधान, आर्थिक सम्वृद्धि, समुदाय स्वास्थ्य सेवाका माध्यमबाट उत्पादन र त्यसको बजारीकरणसँगै स्वास्थ्य सेवा र कोरोना महामारीमा खेलेको भूमिका कारण यो सहकारी जिल्लामै अब्बल सावित बन्दै गएको हो ।

कोभिड १९ को पहिलो र दोस्रो लहरका बेला सदस्यहरुलाई कोभिड १९ का विषयमा सचेतना जगाउँने कार्यका साथै तरकारी र नौलो तरिकाको अकवरे खुर्सानी उत्पादन तथा बजारीकरणसँगै, दुग्ध उत्पादनलाई बढावा दिन व्यवसायिक भैसी पालनमा समेत पहल पैरवी गर्ने काममा सहकारीले सफलता हासिल गरेको छ । सहकारीको सफलता र कूशलताको मूल्याङ्कन गर्दै (आरएसडीसी) ग्रामिण स्वावलम्वन विकास केन्द्र नामक सामाजिक संस्थाले बुधबार एक कार्यक्रमका बीच बीस लाख बराबरको स्वास्थ्य सामग्री दिएको छ । सहकारीलाई प्राप्त स्वास्थ्य सामग्रीहरु संस्थाले सञ्चालन गरेको आईसोलेशन र स्थानीय सरकारका स्वास्थ्य संस्थाहरुमा हस्तान्तरण समेत गरिएको छ । केही गरौ भन्ने सोंचका साथ लाग्ने हो भने आर्थिक क्षेत्रमा फड्को मार्न सकिने सहकारीका अध्यक्ष कृष्ण प्रसाद भूषालले बताए । दुग्ध उत्पादन र तरकारीका साथै बेमौसमी खुर्सानीबाट आय आर्जनका स्रोतहरु समेत पहिचान गरी दुई दर्जन बढी युवाहरुलाई स्वरोजगारका अवसर समेत प्रदान गरिएको अध्यक्ष भूषालको भनाई छ । उनले भने ‘कोभिडका बेला स्वास्थ्य परामर्शका साथै, स्थानीय सरकार र स्वास्थ्यसेवी निकायहरुको सहकार्यमा आईसोलेशन सञ्चालन र प्राथमिक उपचारको काम गर्न थाल्दादेखि नै सहयोगी हातहरु अगाडि बढेका छन्, काम गर्ने हो भने दाताको समस्या हुँदैन । ’

मंगलवार आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा ८ का वडा अध्यक्ष गणेश प्रसाद बस्यालले, सहकारीका माध्यमबाट पनि गाउँको रुपान्तरण गर्न सकिन्छ भन्ने कुराको ज्वालन्त उदाहरण बगनासकाली सहकारी बनेको बताए । कार्यक्रममा ग्रामिण स्वावलम्वन विकास केन्द्रका कार्यक्रम संयोजक हर्क सुनुवार, जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सेना, जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका ल्याव असिष्टेन्ट मधुसुधन भट्टराई लगायतले सहकारी अभियानमा यो संस्थाले नौलो र सदस्यमूखी कार्य गरेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update