Shittalpati
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे

रामपुर(पाल्पा),इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ । यस आर्थिक वर्षको तीन महिनामा एक हजार ३ सय ४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् ।

साउनमा ४ सय ४, भदौमा ६ सय १८ र असोजमा २ सय ८२ जनाले नयाँ नागरिकता बनाएका छन् । त्यस्तै ९ सय ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । साउनमा ३ सय ४९, भदौमा ५ सय ५५ र ७९ जनाले प्रतिलिपि लिएको प्रशासन कार्यालयले जनाएको छ । यस आर्थिक वर्षको हालसम्म दु्रत राहदानी सिफारिस ६६, जनजाति प्रमाणित, नाबालक परिचयपत्र सिफारिस १ सय ४३ जनाले लिएको पाइएको छ । हाल दैनिक ४० ले नयाँ नागरिकता, दशले दु्रत राहदानी सेवा, जनजाति नाबालक प्रमाणित १५ जनाले लिने गरेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिए ।

‘हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन्, सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गर्नुभएको छ’, उनले भने । नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् । यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन् । पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गतेबाट कार्यालय स्थापना गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ । –रासस

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update